काठमाडौं– मुलुकमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा बर्सेनि ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । पछिल्लो समय पुरुष सँगसँगै महिलाहरु पनि वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ ।
आत्मनिर्भता र रोजगारीको अवसर खोज्दै पछिल्लो तीन वर्षमा करिब साढे दुई लाख नेपाली महिला विदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । उनीहरु नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका हुन् । विगत पाँच वर्षमा २६ लाख ७७ हजार ८४५ जना रोजगारीका लागि विदेसिएकामध्ये दुई लाख ४१ हजार ३२३ जना महिला रहेका छन् । औसतमा प्रतिवर्ष ४८ हजार नेपाली महिला वैदेशिक रोजगारीमा गएको तथ्यांकमा देखिन्छ ।
विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा २८ हजार ४३३, ०७७/७८ मा ११ हजार ४५६, ०७८/०७९ मा ४९ हजार १२८ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । यसैगरी आर्थिक वर्ष ०७९/८० मा ७२ हजार १३४ र ०८०/८१ मा ८० हजार १७२ जना महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
कोरोनो महामारीको वर्ष ( आव ०७७/७८) बाहेक प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या झण्डै १० प्रतिशतले बढ्दै गएको देखिन्छ । यसरी वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी खाडी मुलुक र मलेसिया गएको पाइन्छ । विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै महिला कामदार युएई, कुवेत, कतार, साउदी र मलेसिया गएका छन् ।
विभागका अनुसार युएई, कुवेत, कतार, साउदी र मलेसिया जाने महिलाको संख्या धेरै छ । पाँच वर्षको अवधिमा युएईमा ९० हजार १८३, कुवेतमा २९ हजार ६७१, कतारमा २९ हजार ६५८, मलेसियामा १२ हजार ३४४ र साउदीमा तीन हजार ३२७ जना महिला रोजगारीका लागि गएका छन् । विभागको तथ्यांकअनुसार उल्लिखितबाहेकका मुलुकमा जाने नेपाली महिलाको संख्या पनि बढ्दो रहेको छ । पछिल्लो समय युरोपेली मुलुक, दक्षिण कोरिया, जापान, इजरायलजस्ता मुलुकमा महिलाहरु रोजगारीका लागि जाने गरेका छन् ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेबारे विभागले तथ्यांक राखे पनि गैरकानुनीरुपमा खाडी मुलुक जाने महिलाको तथ्यांक यकीन छैन । खाडी मुलुकमा महिला घरेलु कामदारको माग उच्च रहे पनि नेपाल सरकारले जान बन्देज लगाएको छ । यद्यपि, गैरकानुनीरुपमा खाडी मुलुक पुग्ने नेपाली महिलाको संख्या ठूलै रहेको विभिन्न अध्ययनले देखाएको छ । सरकारले महिला कामदारको सुरक्षाको ग्यारेन्टी नभएको भन्दै २०७२ सालदेखि घरेलु कामका लागि खाडीलगायतका केही मुलुकमा पठाउन बन्देज लगाउँदै आएको छ ।