एमपक्स (मंकीपक्स) भाइरसको थप खतरनाक भेरियन्ट पहिचान भएसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले गत बुधबार विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोबाट सुरु भएर अन्य देशमा फैलिएपछि डब्ल्युएचओले दुई वर्षमा दोस्रोपटक यस्तो घोषणा गरेको हो ।
केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । जनवरी यतामात्र उक्त भाइरसका कारण ५४८ जनाको मृत्यु भइसकेको तथ्यांक छ । यसलाई मध्यनजर गर्दै डब्ल्युएचओले गएको शुक्रबार एमपक्स भाइरसको थप खतरनाक भेरियन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन उत्पादकहरुलाई आग्रह गरेको छ । एमपक्स खोपको भण्डारण भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ ।
यहीबीच छिमेकी मुलुक भारतमा मंकीपक्स भाइरसको संक्रमण दु्रतरुपमा फैलिरहेको छ । जसले नेपालमा पनि जोखिम बढाएको छ । खुला सीमा र नागरिकहरुको सहज आवातजावत हुने हुँदा संक्रमण फैलने जोखिम हुनु स्वाभाविक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको स्वीकार गरेको छ । र, यसको रोकथामको तयारी थालेको बताइएको छ । जुन अति आवश्यक भइसकेको छ ।
मंकीपक्स संक्रमित भएको व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्कबाट, संक्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । मंकीपक्स संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन् । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।
नेपालमा अघिल्लो वर्ष एकजना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स संक्रमण देखिएको थियो । यसले पनि नेपाल मंकीपक्स संक्रमणको जोखिममा रहेको प्रस्ट हुने स्वास्थ्यविद्हरुको भनाइ छ । भने । कोरोना महामारीको प्रभावबाट अझै उठ्न नसकिरहेको यथार्थ हामीमाझ ताजै छ । महामारी फैलिएपछि तत्कालीन अवस्थामा जनधनको क्षति त हुन्छ नै त्यसले पु¥याउने दीर्घकालीन असर झन् घातक हुन्छ । मुलुकले प्रत्यक्ष भोगिरहेको समस्या हो यो । त्यसैले मंकीपक्सको संक्रमण फैलिन नदिन पूर्वसावधानी अपनाउनुको विकल्प छैन । हवाई तथा सीमा नाकामा रहेका ‘हेल्थ डेस्क’ तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो जिम्मेवारीमा प्रभावकारी कदम चाल्न जरुरी छ ।