काठमाडौं– वैदेशिक रोजगार विभागले नयाँ महानिर्देशक पाएको छ । विभागको महानिर्देशकमा सहसचिव सूर्यबहादुर खत्रीले जिम्मेवारी पाएका छन् ।गत बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयअन्तर्गत रहेका खत्रीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरी महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
उनी यसअघि अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी थिए । श्रम तथा वैदेशिक रोजगारसम्बन्धि अनुभव नभएका खत्रीलाई विभागको महानिर्देशक बनाइएकोप्रति मन्त्रालयका अधिकारीहरुनै असन्तुष्ट रहेको बताइन्छ । श्रम मन्त्रालयले खत्रीलाई विभागको महानिर्देशकका रुपमा काम गर्न आइतबार नै खटाइसकेको छ ।
यसअघि विभागको महानिर्देशक रहेका डण्डुराज घिमिरेलाई मन्त्रालय तानिएको छ । करिब सात महिना विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेका घिमिरेलाई मन्त्रालय फिर्ता बोलाए पनि अर्को जिम्मेवारी तोकिएको छैन । घिमिरे करिब तीन वर्षदेखि श्रम मन्त्रालय र अन्तरगतका निकायको जिम्मेवारीमा रहेका थिए । श्रम तथा वैदेशिक रोजगारसम्बन्धि जानकार रहे पनि सन्तोषजनक कार्य सम्पादन नगरेको भन्दै घिमिरेलाई श्रम मन्त्री शरत सिंह भण्डारीले फिर्ता गराएको मन्त्रालय स्रोतको भनाई छ ।
घिमिरेअघिका महानिर्देशक मदन दाहाललाई पनि मन्त्रीले दिएका जिम्मेवारी पूरा गर्न नसकेको भन्दै करिब सात महिनामा नै मन्त्रालयमा फिर्ता बोलाइएको थियो । सो समयमा पनि भण्डारी नै श्रममन्त्री थिए । यसरी पटक–पटक महानिर्देशक फेरिनुले विभागको कार्य सम्पादनमा असर पुग्नुका साथै सेवाग्राही समेत मर्कामा पर्ने गरेको सरोकारवालाहरुको भनाइ छ ।