काठमाडौं- प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छभने, जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।
अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर ‘होल्ड’ भएपनि अहिले अवतरण हुन थालेको विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिएका हुन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार खराब मौसमका कारण पोखरा विमानस्थलमा उडान स्थगित गरिएको छ । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन । सुर्खेत विमानस्थलमा खराब मौसमका कारण बुद्ध एयरको विमान आज बिहान नेपालगञ्ज 'डाइभर्ट' भएको थियो । मौसमकै कारण मङ्गलबार पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो ।