काठमाडौं– देशभित्रै रोजगारीको अवसर नहुँदा बर्सेनि ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । पछिल्लो समय पुरुष सँगसँगै महिलाहरु पनि वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । वैदेशिक रोजगारीमा पुरुषमात्र नभई सीप सिकेर जाने महिला श्रमिकको संख्या बढ्दो क्रममा देखिएको छ ।
आर्थिक उपार्जन र रोजगारीको अवसर खोज्दै पछिल्लो तीन वर्षमा एक लाख १७ भन्दा बढी नेपाली दक्ष महिला कामदार विदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । उनीहरु नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका हुन् । बितेका तीन वर्षमा १३ लाख ३० हजार ७५८ जना सीपयुक्त दक्ष नेपाली श्रमिक रोजगारीका लागि विदेश जाँदा त्यसमा एक लाख १७ हजार २२८ जना महिला रहेका छन् । औसतमा प्रतिवर्ष ३९ हजारका दरले दक्ष महिला श्रमिकहरु वैदेशिक रोजगारीमा गएका छन् ।
विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा २३ हजार ४३३, ०७९÷८० मा ४३ हजार ५४२ र ०८०÷८१ मा ५० हजार २५३ जना सीपयुक्त दक्ष महिलाले श्रम स्वीकृति लिएर विदेसिएका छन् । वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या प्रत्येक वर्ष बढ्दै गइरहेको देखिन्छ भने सीप सिकेर जाने संख्या पनि बढ्दै गएको छ । यसरी महिलाहरु सीप सिकेर वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी खाडी मुलुक र मलेसिया गएका विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै सीपयुक्त महिला कामदार युएई, कुवेत, कतार, जोर्डन, साउदी र मलेसिया गएका छन् । यसरी जानेमा क्लिनिङसम्बन्धी सीप सिकेका, नर्सिङ, व्युटिपार्लर, गार्मेन्ट, हस्पिटालिटी सर्भिस, सेल्स एण्ड मार्केटिङसम्बन्धी सीप भएका महिलाहरु रहेका बताइएको छ । सीपयुक्त महिला श्रमिक खाडी तथा मलेसियासँगै अन्य मुलुकमा पनि जाने गरेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय युरोपेली मुलुक, दक्षिण कोरिया, जापान, इजरायल, बेलायतजस्ता मुलुकमा पनि दक्ष महिला श्रमिकहरु रोजगारीका लागि जाने गरेका छन् ।
तीन वर्षको अवधिमा पेसागत दक्षता हासिल गरेका ५२२ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले उल्लेख गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ५३, ०७९÷८० मा १०४ र ०८०÷८१ मा ३६५ जना पेसागत दक्षता हासिल गरेका महिला विदेसिएका छन् । यसै अवधिमा विशिष्ट दक्षता (विशेषज्ञता) हासिल गरेका २४० जना महिला पनि विदेसिएको विभागले जनाएको छ ।
पछिल्ला तीन वर्षमा दुई लाख एक हजार ४३४ जना महिला श्रमिक वैदेशिक रोजगारीका लागि जाँदा विशिष्ट दक्षता (विशेषज्ञता) हासिल गरेका २४०, पेसागत दक्षता हासिल गरेका ५२२, सीपयुक्त दक्षता भएका एक लाख १७ हजार २२८ जना छन् भने सेमीस्किल्ड अर्थात् अर्धदक्ष १६ हजार १६ र अदक्ष ६७ हजार ४२८ महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ ।
वैदेशिक रोजगारीमा जाने सीपयुक्त दक्ष महिला श्रमिकको संख्या बर्सेनि बढ्दै गए पनि अझै ठूलो संख्यामा अदक्ष श्रमिकहरु रोजगारीका लागि विदेश गइरहेको विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए । उनका अनुसार विदेश जाँदा सीप सिकेर जाने क्रम बढ्दै गएको छ । ‘सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेयता सीप सिकेर विदेश जाने श्रमिकको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘त्यसमा पनि सीप सिकेर जाने महिला श्रमिकहरुको संख्या बर्सेनि बढेको देखिन्छ ।’
सुवेदीका अनुसार पछिल्ला आर्थिक वर्षहरुमा वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको संख्या क्रमशः घट्दै गइरहेको छ । यद्यपि, सीप विकास तालिम अनिवार्य हुँदाहुँदै पनि यसको कार्यान्वयनमा कठिनाइ भएका कारण अझै पनि ठूलो संख्यामा अदक्ष श्रमिक रोजगारीका लागि विदेश जाने क्रम नरोकिएको उनले बताए ।
पछिल्ला तीन वर्षमा रोजगारीका लागि विदेसिएका महिला
विशिष्ट दक्षता भएका ः २४० जना
पेसागत दक्षता भएका ः ५२२ जना
सीपयुक्त दक्षता भएका ः १,१७,२२८ जना
अर्धदक्ष ः १६,०१६ जना
अदक्ष ः ६७,४२८ जना
तीन वर्षमा कूल ः २,०१,४३४ जना
स्रोतः वैदेशिक रोजगार विभाग