काठमाडौं– वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमप्रदायक संस्थाहरुको संगठन राष्ट्रिय अभिमुखीकरण तालिम संघको अध्यक्षमा विष्णु कार्की चयन भएका छन् । संघको शनिबार सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
छ महिनाअघि तदर्थ समिति बनाएर स्थापना गरिएको संघले साधारणसभामार्फत आधिकारिक कार्यसमिति पाएको छ । नवनिर्वाचित अध्यक्ष कार्कीले अभिमुखीकरण तालिमलाई सरकारसँग समन्वय गर्दै नयाँ शिराबाट सञ्चालन गर्ने योजना रहेको बताए । साधारणसभाले यसको कार्यभार नयाँ कार्यसमितिलाई दिएको उनको भनाइ छ । संघमा ६२ वटा अभिमुखीकरण तालिम दिने संस्था आबद्ध रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।
साधारणसभामा वैदेशिक रोजगार बोर्डका सदस्य विष्णुगोपाल गड्तौला, पूर्वबोर्ड सदस्य तथा अभिमुखीकरण तालिम महासंघकी संस्थापक तथा संरक्षक सीता देवकोटा, संरक्षक सरोज मैनालीलगायतले संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए । उनीहरुले ‘सिन्डिकेट’मा नलागी सदैव गरिब तथा निमुखा कामदारलाई मुख्य प्राथमिकतामा राखेर व्यावसाय सञ्चालन गर्न सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष मनोजकुमार चौधरी, द्वितीय उपाध्यक्ष प्रकाश कार्की, तृतीय उपाध्यक्ष छत्र खड्का चुनिएका छन् । महासचिवमा जयप्रकाश यादव, सचिव समीक्षा पाण्डे र कोषध्यक्षमा दण्डबहादुर आले चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुन न्यौपाने, कृष्ण कार्की, विनिता भण्डारी, सुरेन्द्र झा, नवीन सिंह र उषा मल्ल समेटिएका छन् ।
नवनिर्वाचित अध्यक्ष कार्कीको प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष कार्कीले संस्थाको विधानअनुसार समयमै साधारणसभा र नयाँ कार्यसमिति चयन गरेर सकारात्मक सन्देश दिन सफल भएको बताए । ‘व्यवसायीहरुमा भएको नैराश्यता हटाउँदै आत्मसम्मान र पारदर्शी तवरले व्यवसायलाई बढाउनकै लागि संघको स्थापना भएको हो,’ उनले भने, ‘व्यवसायमा स्वच्छता र पारदर्शिता आवश्यक छ । यसमा हामीले पहिलेदेखि नै श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, बोर्डलगायतका निकायहरुको ध्यानाकर्षण पनि गराउँदै आएका छौं ।’
मन्त्रालयले बनाएका विभिन्न समितिहरुमा व्यवसाय र श्रमिकको हितमा हुने थुप्रै प्रस्ताव पेस गरिएको उनले बताए । अभिमुखीकरण तालिम अनिवार्य लिनैपर्ने अवस्था सिर्जना गर्न, प्रविधिमैत्री बनाउन, व्यावहारिक एवं सीपमूलक शिक्षा भएको पाठ्यक्रम निर्माण गराउन, प्रणालीगत सुधार र नीतिगत सुधारमासमेत संघले पहल गर्ने अध्यक्ष कार्कीले प्रतिबद्धता जनाए ।
‘बिचौलिया निस्तेज पार्न प्रणालीगत सुधार आवश्यक छ । यसमा हामी र हाम्रो संघ निरन्तर लागिरहने प्रण गर्दछौं,’ उनले भने । व्यावसायिक सिण्डिकेट अन्त्य गर्न र पछिल्लो समयमा कारबाहीमा परेका तालिमप्रदायक संस्थाहरुको निलम्बन फुकुवा गरी काम गर्न दिने वातावरण निर्माण गरिदिन सरोकारवाला निकायसँग अध्यक्ष कार्कीले माग गरे ।