काठमाडौं– ब्राजिल ट्राञ्जिट हुँदै तस्रो मुलुक जान खोज्ने नेपालीहरु त्यहाँको साउपाउलो विमानस्थलको ट्राञ्जिटमा अलपत्र परेका छन् । ब्राजिल ट्राञ्जिट भएर तेस्रो मुलुक जान खोज्ने ७०० मध्ये १७६ जना नेपाली रहेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ ।दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै अलपत्र अवस्थामा रहेका नेपालीहरु सकुशल रहेको र आवश्यकताअनुसार मानवीय सहायता पु¥याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ ।
‘दक्षिण अमेरिकाका ब्राजिललगायतका मुलुकहुँदै अवैधरुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो रहेको छ । संगठितरूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाटसमेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ,’ दूतावासको भनेको छ ।
ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नयाँ नियम ल्याएको पनि दूतावासले जनाएको छ । अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सीधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाएको दूतावासले बताएको छ ।
दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्रै ब्राजिल वा ब्राजिलहुँदै अन्य मुलुकको भ्रमणमा निस्कन पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ ।