काठमाडौं - नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली दुई पटकको च्याम्पियन नेपाललाई ४–१ गोल अन्तरले हराएकाे हाे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् ।खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।
नेपालका लागि सान्त्वना गोल समिर तामाङले ८१ औं मिनेटमा गोल गरेका थिए । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो ।
तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गरेकाे हाे । इन्जुरी टाइमको छैटौं मिनेटमा पीएस अहमद नोभाले गोल गर्दै बंगलादेशको ४-१ को जित पक्का गरेका हुन् । बंगलादेशी टोलीले नेपाल आएर जितेको यो चौथो उपाधि हो ।
सन् २०१८ मा साफ यु-१५ को उपाधि जितेको बंगलादेशको सिनियर महिला टोलीले २०२२ मा साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो।
साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले नै पराजित भएको थियो । यस्तै २०२४ मै नेपालमा भएको साफ यु-१५ च्याम्पियनसिपको उपाधि पनि बंगलादेशले जितेको थियो ।