काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सूर्य बहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।