काठमाडौं– वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा आठ महिनाको अवधिमा झण्डै सात हजार नेपालीले प्रवेश पाएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०२४ को आठ महिनामा नयाँ श्रम स्वीकृति लिएर छ हजार ८७९ जनाले कोरिया रोजगारीका लागि प्रवेश पाएका हुन् । पुनः श्रम स्वीकृतिसहित आठ हजार ४३ जना नेपाली कोरिया पुगेका छन् ।
सोही अवधिमा कोरिया गएका नेपाली श्रमिकमध्ये ७३५ जना महिला रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । इपिएसमार्फत कोरिया प्रवेश गर्ने औसत आप्रवासी श्रमिकको तुलनामा नेपालीको संख्या बढी रहेको बताइन्छ । कोरियाले पछिल्लो समय नेपाली युवालाई प्राथमिकतामा राखेर छनोट गरिरहेका कारण आठ महिनाको अवधिमा आठ हजारभन्दा बढी नेपाली कोरिया रोजगारीमा जान पाएको विभागको इपिएस शाखाले जनाएको छ ।
अन्य देशको तुलनामा नेपालले सबैभन्दा बढी कामदार कोरिया पठाउँदै आएको इपिएस शाखाकी निर्देशक मैया कँडेलले बताइन् । उनका अनुसार एचआरडी कोरियाले केही दिनयता रोजगारीका लागि जाने नेपालीहरुको उडान तालिकासमेत धमाधम पठाइरहेको छ । कोरियाले नेपालसहित १६ वटा मुलुकबाट आप्रवासी श्रमिक लैजाने गरेको छ । आगामी दिनमा नेपालबाट जाने श्रमिकको संख्या अझै बढ्ने कँडेलले बताइन् ।
‘यसअघि पनि अन्य देशको तुलनामा नेपालबाट जाने श्रमिकको संख्या बढी नै थियो,’ उनले भनिन्, ‘गत वर्ष नेपाल अन्य १६ देशको तुलनामा सबैभन्दा बढी श्रमिक पठाउने पहिलो देश भएको थियो ।’ विगतमा नेपालले ‘बेस्ट प्राक्टिस आउटस्टान्डिङ अवार्ड’ प्राप्त गरेका कारण पनि कोरियाले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनले जानकारी दिइन् । यसैगरी कोरियाको रोजगारदाताले पनि नेपाली श्रमिकप्रति नै रुचि राख्ने गरेका कारण नेपाली युवाको माग धेरै भएको उनको भनाइ छ ।
नेपाली युवाहरुको लगनशीलता, अनुशासन र कामप्रतिको लगावले पछिल्लो समय कोरियाले धेरै नेपाली माग गर्ने गरेको बताइएको छ । परिणामस्वरुप सन् २०२३ मा १६ वटा मुलुकमध्ये नेपालबाट सबैभन्दा धेरै (१९ हजार ६८९) श्रमिक कोरिया गएका थिए । हाल उत्पादन क्षेत्रतर्फ नौ हजार ७२८, कृषिमा नौ हजार ६७२, शिप बिल्डिङमा तीन हजार ८८५ र सिविटीमा ७५४ जना गरी २४ हजार ३९ जना रोस्टरमा रहेको इपिएस कोरिया शाखाले जनाएको छ । कोरिया जाने आप्रवासी श्रमिकले स्थानीय कामदारसरह पारिश्रमिक र सेवा सुविधा पाउने गरेका छन् । कोरियाले सन् २०२४ का लागि नेपालबाट १६ हजारको हाराहारीमा श्रमिक लैजाने गरी कोटा निर्धारण गरेको छ ।