काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाईरसका कारण सम्पुर्ण खेल गतिविधि स्थगित गर्न सुचना जारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बिहिबार बसेको आपतकालिन बैठकले विश्वमा फैलदै गएको कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता लगायत सम्पुर्ण कार्यक्रम अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गर्न सुचित गरेको हो ।
राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाईरसले पार्ने प्रभाव र जोखिमलाई न्युनिकरण गर्न राखेपले सो निर्णय गरेको बताएका छन् । ‘सुरु नभएका खेलकुद प्रतियोगिता तथा कार्यक्रम रोक्न भनिएको हो ।’ थापाले भने, ‘सञ्चालनमा आएका कार्यक्रम भने पुर्व निर्धारित तालिका अनुसार समापन हुनेछन् ।’ विश्वमा फैलदो कोरोना भाईरसका कारण विश्व खेलकुदका प्राय गतिविधि प्रभावित छन् । सोही अनुसार घरेलु खेलकुदमा समेत कोरोनाले प्रभावित पार्ने आशंका गरिएको थियो । दर्शक तथा मानिसहरूको भिड खेलकुदका कार्यक्रममा हुने भएकाले आवश्यक निर्णय गर्नुपरेको राखेपले जनाएको छ ।
इपिएल स्थगित
यसैबीच कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । उनका अनुसार नेपाल क्रिकेट सङ्घ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । ‘कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ’, उनले भने ।
यसअघि इपिएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो । प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुनेछ । ललितपुर, काठमाडौँ किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् ।