काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको समग्र स्वास्थ्य सूचना प्रणालीलाई डिजिटलाइज गरी ट्र्याकिङ गर्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमावली, २०६५ को दफा ४६ बमोजिम डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा १६ सदस्यीय कार्यदल गठन गरेको हो ।
विदेसिने श्रमिकको स्वास्थ्य परीक्षणलाई वस्तुनिष्ठ तथा वैज्ञानिक बनाउन कामदारको स्वास्थ्य प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्डबमोजिम बनाइ यससम्बन्धी विद्यमान जनगुनासो र समस्या समाधानका लागि सुझाव संकलन गर्ने गरी डा. सिंहको संयोजकत्वमा विशेषज्ञ चिकित्सक सम्मिलित १६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यदलले आगामी दिनहरुमा कामदारको स्वास्थ्य परीक्षणलाई सहज र सरल बनाउने सम्बन्धमा अध्ययन गरी तोकिएको कार्यविवरणअनुसार सुझाव प्रदान गर्ने मन्त्रालयका मन्त्रालयका सहायक प्रवक्ता एवं उपसचिव कविराज उप्रेतीले जानकारी दिए ।
कार्यदललाई अकुपेसनल हेल्थ/नन कम्युनिकेवल डिजेज, टेलिमेडिसिन, मेन्टल हेल्थ, साइकोलोजिकल काउन्सेलिङलगायत कामदारको समग्र स्वास्थ्य सूचना प्रणालीलाई डिजिटलाइज गरी ट्र्याकिङ गर्ने विषयसँग सम्बन्धित रहेर एक महिनाभित्र सुझाव पेस गर्ने जिम्मेवारी तोकिएको उप्रेतीले बताए । श्रममन्त्री शरतसिंह भण्डारीले यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन गरेका हुन् ।