बागलुङ — बागलुङको गल्कोटमा अन्तर्राष्ट्रिय मूर्तिकला मेला सम्पन्न भएको छ । विश्वका ११ देशका मूर्तीकारहरूको सहभागीता भएको मेला फागुन ५ देखि १७ दिनसम्म चलेको थियो । मेलामा बाग्लुङकै गायक रामजी नेपालीले ११ देशकै मूर्तीकारहरूको देशका राष्ट्रिय गान गाएका थिए । उक्त क्रममा नेपालीसँगै मूर्तिकारहरूले आफ्नो देशको राष्ट्रिय गान गाएका थिए ।
नेपाललाई विश्वमा चिनाउने अभियानसहित विश्वका २५ देशका राष्ट्रिय गान गाउनसक्ने नेपालीले विश्वभ्रमण गर्ने अभियान नै चलाएका छन् । उनले विश्वभ्रमणको सुरूवात नेपालबाटै सुरू गर्दै नेपालका अधिकांश जिल्लाहरूको भ्रमण गरी भारत भ्रमण गरी आयोजकको आग्रहमा नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय मूर्तिकला मेलामा सहभागी भएको बताए । उक्त अवसरमा मूर्तिकारहरूले नेपालीको प्रतिभाबाट आफूहरू प्रभावित भएको बताएका थिए ।
११ जना अन्तर्राष्ट्रिय मुर्तिकारहरूको उपस्थितिको हिसाबले नेपालकै पहिलो र ऐतिहासिक कार्यक्रम १७औं दिन सम्म अहोरात्र खटीइ प्रदेशसभाका पर्यटन मन्त्री बिकाश लम्सालको प्रमुख आतिथ्यतामा मेला सम्पन्न भएको जनाइएको छ । सबै स्थानीय एवं मूर्तिकारहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेकोले सबैप्रति आभार भएको आयोजकको भनाइ छ । उक्त अवसरमा ११ देशका मुर्तिकारसँगै गायक रामजी नेपालीलाइ पनि सम्मान गरिएको थियो ।
गत फागुन ५ देखि गल्कोट नगरपालिका–५ टेउवामा सुरु भएको अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाले अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै बुधबार सकिएको हो ।
कार्यशालाले मुर्तिसँगै अन्तर्राष्ट्रिय स्तरको मान्यता पनि प्राप्त गरेको हो । संग्रहालय बनाउने भनिएको कार्यशालामा ठुला ठुला ढुंगामा बनेका आकृति तयार भएका छन् । तिनै आकृति र सहभागि मुर्तिकारको मुल्यांकन गर्दै अन्तर्राष्ट्रिय मान्यता सहितको प्रमाणपत्र कार्यशालाले पाएको छ ।
गण्डकी प्रदेशमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकार सहभागी गराएर आयोजना गरिएको कार्यशालाले अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको आयोजकले जनाएका छन् ।