मुलुकमा रोजगारीको कुनै सम्भावना छैन । रोजगारी नभएपछि वैदेशिक रोजगारको विकल्प नै छैन । विदेशमा दुःख गरेर भित्रिएको रकम केवल मनोरञ्जन, विलासिता र उपभोग्य वस्तुमा खर्च भएपछि चिन्ताको विषय बन्न पुगेको छ । बिपे्रषणको सदुपयोग नभएकामा सबै कोणबाट चिन्त व्यक्त गर्न थालिएको छ । तर, यस्तो महत्वपूर्ण विषयमा सोच्न सरकारसँग समय छैन । घरखेत धरौटी राखेर वैदेशिक रोजगारमा गए पनि बिप्रेषण सदुपयोग भएको देखिएको छैन । बिप्रेषणको अधिकांश भाग विलासिता, घरघडेरीमा खर्च भइरहेको छ । बिप्रेषणका आधारमा नेपाल बस्नेले पनि अनुत्पादनशील काममा अत्याधिक खर्च बढिरहेको छ । बिप्रेषणको मात्र बढ्दै गए पनि मुलुको हालत भने सुध्रेको छैन । कुनै बेला कृषि प्रधान मात्र होइन, दक्षिण कोरियाजस्तो मुलुकलाई खाद्यान्न अनुदानमा दिने नेपालले आज उसैको देशमा नेपालीले श्रम गर्न जानु परेको छ ।
सरकारी तथ्यांकलाई नै मान्ने हो भने पनि ११ वषमा ५८ खर्ब बिप्रेषण नेपालले भित्र्याएको छ । तर, आज सो बिप्रेषणको भाग महसुस गर्ने गरी देखिएको छैन । बिप्रेषण भित्र्याउनेहरूको अवस्था उही छ, आज पनि उनीहरू वैदेशिक रोजगारमा नजाने हो भने फेरि उसको परिवारको हालत उहि हुनेछ । त्यसो त श्रीमान् वैदेशिक रोजगारमा जानेबित्तिकै श्रीमती र छोराछोरीलाई काठमाडौंमा राख्ने प्रचलन बढेकाले बिप्रेषणको अधिकांश भाग उपभोगमा नै खर्च भएको देखिन्छ । बिप्रेषणको बढी भाग जग्गा जमिनमा लगानी गरेको भए पनि यो अनुत्पादनशील क्षेत्र भएकाले यसले प्रतिफल दिएको पाइँदैन । दुई वर्ष विदेशमा काम गरेर मरितरी ४ कठ्ठा जमिन खरिद गरे पनि उक्त जमिनको उत्पादनले गर्जो नटर्ने भन्दै गाँस र बासका लागि फेरि विदेशिनु पर्ने, यसैबीच, बालबच्चाको लालनपोषण र पढाइ खर्चका लागि ऋण लिँदा उक्त जग्गा नै फेरि धरौटी राख्नुपर्ने आएकाले बिप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगाउनै पर्ने बाध्यात्मक अवस्था बनाउनुपर्ने देखिन्छ ।
वास्तवमै भन्ने हो भने वैदेशिक रोजगारले सामाजिक पाटोलाई नै अस्तव्यस्त बनाउँदै लगेको छ । वैदेशिक रोजगारमा लामो समयसम्म भर पर्ने वातावरणको अन्त्य गर्नैपर्छ । मुलुकले उत्पादनमा मात्र ध्यान दिने हो भने वैदेशिक रोजगारको प्रभाव घट्दै जान्छ । एक व्यक्तिले जतिसुकै रेमिट्यान्स भित्र्याए पनि सो रकमले उसको आवश्यकता पूरा नगर्ने यसो हुँदै जाँदा उसको अर्को पुस्ताले वैदेशिक रोजगारलाई नै अंगीकार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पुस्तौनी वैदेशिक रोजगारमा नै भर पर्ने हो भने यसले मुलुकलाई आत्मनिर्भर होइन, परनिर्भर बनाउने सम्भावना बढ्दै गएको देखिन्छ । स्वदेशमै स्वरोजगार बन्न सरकारले सीपमूलक तालिममा बढी ध्यान दिनुपर्छ । सीप सिकेर यहाँनै वैदेशिक रोजगारमा भन्दा बढी रकम कमाउन सकियो भने वैदेशिक रोजगारप्रतिको मोह पनि घट्दै जाने देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६ ०६:५४