सिमकोट–गत फागुन ५ गते राति एक अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेको छ । वल्र्डलिङ कम्युनिकेसनका जिल्ला संयोजक रामजन रावतका अनुसार सो घटनाले गाउँपालिकाका सबै सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि दुई गाउँपालिका सर्केगाड र चङ्खेलीको कामकाजमा असर परेको छ । टावरसँग जोडिएका सबै तार र अन्य सामग्री तोडफोड गरिएको थियो ।
चैखेली गाउँपालिकामा रहेका वडा नं १ देखि ६ सम्मका कार्यालय, स्वास्थ्यचौकी, विद्यालय, स्वयं चङ्खेली गाउँपालिका कार्यालय तथा सर्केगाड गाउँपालिकाको सिटिजन्स बैंकको कारोवार ठप्प भएको रावतले बताए । इलाका प्रशासन, सर्केगाडका वडा कार्यालय, स्वास्थ्यचौकी तथा विद्यालय पनि प्रभावित भएको महिला कल्याण फिल्ड संयोजक पदमराज हमालले बताए । मिमि प्रहरीचौकीले सो टावर तोडफोड गर्ने व्यक्तिहरुको खोजीको लागि अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६ ०७:१७