काठमाडौं - ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनियुक्त अध्यक्ष सागर पाण्डेले पदबहाली गरेका छन् ।
आज पदबहाली कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोला र कार्यसमितिले सुरु गरेका काम तथा गर्न बाँकी रहेका कामहरु निरन्तरता दिने बताएका हुन् ।
उनले भने, ‘म टानको महासचिवको पदमा रहेर आफनो कार्यकाल सम्हालिसकेको नाै वर्षपछि अध्यक्ष पदभार ग्रहण गर्न पाउँदा मलाई थप उर्जा मिलेको छ । व्यवसायको हकहित र समग्र नेपालको पर्यटनको विकासमा के गर्न सकिन्छ,त्यसमा पनि हाम्रो कार्यसमिति लाग्ने छौं ।’ उनले नेपाल पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने विश्वास दिलाउने बताए ।
टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले नवनियुक्त अध्यक्षसहित नयाँ कार्यसमितिलाई टानलाई अझ राम्रो, व्यवस्थित तरिकाले अघि लैजाने र आफूबाट हुन सक्ने सहयोग र साथ सधै रहने बताएका छन् ।
निवर्तमान अध्यक्ष बाँस्तोलाले अध्यक्षलाई बधाई दिँदै भने, " २१ गाउँपालिकालाई टानमा समावेश गरेका छौँ । ६ वटा गाउँपालिकासँग काम सुरु गरेका छाैँ । १ करोड ८७लाख युएनडिपी संग सकाहर्या गरी काम गरिराखेको छौँ । टानले अन्य विभिन्न संस्थासँग आवद्ध भएर काम गरिरहेकाे अवस्थामा हस्तान्तरण गर्दै आउँदा दिनमा यही बाँकी कामहरुलाई निरन्तरता दिनुहुनेछ भन्ने अपेक्षा गरेका छाैँ । '' उनले अनुभवी सिइओकाे साथ भएको कारण यहाँसम्म आइपुगेकाेमा धन्यावाद दिए ।
टानको ४६औं वार्षिक साधरणसभाबाट अध्यक्षमा सागर पाण्डे, सोनाम ग्यल्जेन शेर्पा, वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा, सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका थिए । त्यस्तै, कार्यसमिति सदस्यमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका थिए ।