काठमाडौं - वैदेशिक रोजगारमा रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुवई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका-७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका-११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ हात्तिगौडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका छन् ।
पक्राउ मध्ये सुशान्तले २ जना पीडितबाट ८ लाख ४० हजार रूपैयाँ, सल्लउदिनले २ जना पीडितबाट ७ लाख २० हजार रूपैयाँ र राजुले ३ जना पीडितबाट ८ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुशान्तलाई काठमाडौं कोटेश्वरबाट, सल्लउदिनलाई काठमाडौं सिनामंगलबाट र राजुलाई काठमाडौं हात्तिगौडाबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।