विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसको असरले विश्वकप छनोटका खेलहरू स्थगित गरिएको फिफा र एसियन फुटबल कन्फिडेरेसन(एएफसी)ले जनाएको छ । फिफाका अनुसार एसियामा हुने सबै फुटबल गतिविधिहरू स्थगित गरिएको छ । स्वस्थ्य नै सबथोक भएको बताउँदै फुटबलमा संलग्न सबै व्यक्तिको भलाइका लागि यस्तो निर्णय लिएको फिफा र एएफसीले उल्लेख गरेको छ । मार्च र जुनमा हुने सबै छनोटका खेलहरू स्थगित गर्दै कोरोनाले निम्त्याएको त्रासपूर्ण स्थिति सामान्य भएपछि मात्र फिफा र एएफसीले संयुक्त रुपमा अर्को खेल तालिका सार्वजनिक गर्ने बताएको छ । त्यसैकारण नेपालले फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोट अन्तर्गत घरेलु मैदानमा खेल्ने खेलहरू पनि स्थगित भएका छन् ।
फिफाले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ), संघ र अन्य सदस्यहरूसँग पनि कोरोना भाइरसको स्थिति बारे निगरानी गरिरहेको जनाएको छ ।