भारत - जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यू र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन् ।
मणिपुरमा मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच सन् २०२३ को मे महिनामा सुरु भएको जातीय द्वन्द्वले कम्तिमा २०० जनाको ज्यान लिएको छ । महिनौँको सापेक्षिक शान्तिपछि यस महिना द्वन्द्वको नयाँ लहर सुरु भएको हो ।
विद्रोहीहरूले रकेट र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने राज्यमा हिंसाको उल्लेखनीय वृद्धि भएको प्रहरीले बताएको छ । “पछिल्ला केही दिनमा भएको हिंसात्मक विरोध प्रदर्शनपछि मणिपुर प्रहरीले सात किशोर र अन्य ३३ जनालाई पक्राउ गरेको छ”, प्रहरीको एक विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले मानिसहरूलाई हिंसाग्रस्त क्षेत्रमा शान्ति कायम गर्न कानून प्रवर्तन विभागसँग सहकार्य गर्न आग्रह गरेको छ । गत वर्ष महिनौँसम्म चलेको ‘ब्ल्याकआउट’लाई दोहोरÞ्याउँदै अधिकारीहरूले विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेका छन् । प्रहरीले कर्फ्यूको आदेश पनि जारी गरेको थियो तर राज्यको राजधानी इम्फालमा सयौँले आदेशको अवहेलना गर्दै प्रदर्शन गरेका थिए ।
मेइतेई प्रदर्शनकारीले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोष लगाउँदै उनीहरूविरुद्ध कारबाहीको माग गर्दै मङ्गलबार विरोध प्रदर्शन गरेका थिए ।मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।
अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।सरकारी तथ्याङ्कअनुसार गत वर्ष दुई समुदायबीचको लडाइँले लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए ।