काठमाडौं– संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ । परिषद्को सोमबार बसेको बैठकले राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उपसभामुख इन्दिरा राना मगरले परिषद्को बैठकबाट उक्त निर्णय भएको जानकारी दिइन् ।
सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदै छ । न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । उक्त सिफारिसका आधारमा वरिष्ठताका आधारमा राउतलाई सिफारिस गरिएको बताइएको छ ।अब भावी प्रधानन्यायाधीश राउतको नाम अनुमोदनका लागि संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुने छ । समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रधानमन्त्रीको अध्यक्षता बसेको बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी थिए । यसअघि पटक–पटक बसेको परिषद्को बैठक विनानिश्कर्ष स्थगित हुँदै आएको थियो । पछिल्लोपटक गत शुक्रबार बसेको बैठक प्रधानन्यायाधीश नियुक्ति विवादरहित बनाउन थप अध्ययन गर्ने निर्णय गरेर टुंग्याइएको थियो ।