काठमाडाैं- अपांगता भएका १२ जना पर्यटकसहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेकाे छ । नेपाल अपांगमैत्री पयर्यटकीय गन्तव्य भएको सन्देश प्रभाव हुने अपेक्षाका साथ नेपालस्थित इजरायली राजदुतावासको समन्यवमा मंगलबार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले विमानस्थलमा उनीहरुलाई स्वागत गरेका हुन् ।
सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनांग र मुस्तांगका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका रहेकाे छ । बुधबार काठमाडाैंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टरमार्फत मनाङको हुम्दे,थोरङलापास हुँदै मुक्तिनाथ र जोमसमेबाट पुनः हेलिकोप्टरमार्फत पोखरा र पोखराबाट काठमाडाैं फर्किने तालिका रहेको जनाइएकाे छ ।
अपांगता भएका पर्यटकहरुको आगमन र उनीहरुले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपांगमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताएका छन् ।
“हामीले कतिपय स्थानमा अपांगता मैत्री टे«ल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपांगता मैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं । जसले नेपाल सवलांगका लगिमात्र नभई अपांगताहरुका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रभाव गर्ने छ ।” उनले भने । विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपांगमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे ।
“नेपाल प्रकृतिको अनुपम उपहार हो । यो देश साच्चिकै सुन्दर छ । यहाँको कला संस्कृति र परम्परा र प्रकृतिर आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँदछ । विगतका वर्षहरुमा नेपाल भ्रमणमा आएका अपांगता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन् । यो संख्या आउँदा दिनमा पुनः बढ्नेछ ' उनले भने ।
नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजवुत हुने विश्वास व्यक्त गरे । यस्तै पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपांगता भएका व्यक्तिहरुको नेपाल भ्रमण गर्ने सोंच र योजनाले विश्वरभरका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए ।
“इच्क्षा शक्ति र आत्मविश्वास सबैभन्दा ठूला कुरा हो । जुन इच्क्षा शक्ति र आत्मविश्वासले तपाईहरुलाई नेपालसम्म आइपुग्न अभिप्ररित गर्यो । यसले अपांगता भएका अन्य वयक्तिहरुमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्ने छ ”उनले भने ।
इजरायली राजदुतावासको समन्यवमा गत वर्ष पनि अपांगता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगष्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।