काठमाडौं– दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत विदेशी कामदार छनोट गर्ने क्रममा नेपाली कामदारको माग संख्या बढाएको छ । कोरियाको ह्युमन रिसोर्स डिपार्टमेन्ट (एचआरडी) कोरियाले सन् २०२४ को दोस्रोपटकको विदेशी कामदार छनोटमा अन्य मुलुकको तुलनामा नेपालबाट धेरै नेपाली कामदारको माग गरेको बताइएको छ ।
यसभन्दा अघि १६ मुलुकबाट कामदार छनोट गर्दा पाँचौं स्थानमा परेको नेपाल अहिले पहिलो स्थानमा परेको वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ । कोरियाको एचआरडीबाट शिप बिल्डिङसहित उत्पादनमूलक क्षेत्रमा लगभग दुई हजार १०० भन्दा बढी कामदारको माग जारी भएको शाखाकी निर्देशक मैयाँ कँडेलले बताइन् । उनका अनुसार अघिल्लोपटक १३ सय जनाको मात्रै माग जारी भएर नेपाल पाँचौं स्थानमा परेको थियो ।
‘कोरियाका रोजगारदाताहरुले उत्पादनमूलक, कृषि, निर्माणसहित विभिन्न सेवामूलक क्षेत्रका लागि अन्यभन्दा नेपालीहरुलाई प्राथकितामा राखेको देखिन्छ,’ उनले भनिन्, ‘पहिलो खेप आएको माग इस्यु अलि निराशाजनक थियो तर अहिले अन्य देशभन्दा अगाडि भएको जानकारी उत्साहित नै छौं ।’ कोरियाले अघिल्लो वर्ष पनि विदेशी कामदार लैजाने क्रममा सबैभन्दा बढी नेपालीहरुलाई छनोट गरिएको उनले जानकारी दिइन् ।
इपिएसमार्फत सन् २०२३ मा १९ हजार २१४, सन् २०२२ मा १४ हजार जना नेपाली कामदार रोजगारीका लागि कोरिया गएको शाखाको तथ्यांकले देखाएको छ । यो वर्ष २० हजार बढी नेपालीले कोरियामा रोजगारीको अवसर पाउने अनुमान गरिएको छ । नेपालबाट कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा समझदारी गरेको थियो । उक्त प्रणालीअन्तर्गत सन् २००८ बाट कोरियाले नेपाली कामदार लैजान सुरु गरेयता अहिलेसम्म एक लाख बढी नेपालीहरु कोरिया पुगिसकेका छन् ।