काठमाडाैं - साहसिक पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय पर्यटक रोड टु ल्हासाको टोली काठमाडाैं आईपुगेको छ ।सड्कमार्गबाट विश्वका विभिन्न देशको साहसिक यात्रा गराउने कम्पनी एडभेन्चर ओभरल्याण्डको आयाेजनामा २० जनाको टोली भारतको गोरखपुर हुँदै लुम्बिनी र लुम्बिनीबाट काठमाडाैं आइपुगेको हो ।
१० वटा गाडीमा चार जना महिला सहित २० जनाको यो समुहले भारत, नेपाल र चीन गरि तीन देशको यात्रा तय गर्ने जनाइएकाे छ । काठमाडाैं आएको उक्त टोलीलाई शुक्रबार मेरियट होटलबाट नेपाली राष्ट्रिय झण्डा फहराएर विदाई गरेकाे हाे ।
नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले नेपालकाे साहसिक पर्यटन प्रर्वद्धनका लागि रोड टु ल्हासा यात्रा सहयोगी हुने बताए ।उनले नेपाल संस्कति, प्रकृति र साहसिक पर्यटनको केन्द्र भएको उल्लेख गर्दै आयोजकलाई नेपाल केन्द्रित साहसिक यात्राका अन्य संस्करण आयोजन आग्रह गरे ।
आयोजक कम्पनी एडभेन्चर ओभरल्याण्डका सञ्चालक तथा निर्देशक सञ्जय मदानले नेपाललाई समेटेर यो साहसिक यात्रा तय गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै आफ्नो टोलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनी हुँदै काठमाडाैं आइपुग्दा छुट्टै आन्नदको महसुश गरेको प्रतिक्रिया दिए ।
गोरखपुरबाट लुम्बिनी हुँदै काठमाडाैं आइपुगेको सो टोलीमा १० वटा गाडीमा २० जना साहसिक पर्यटकहरु रहेका छन् । काठमाडाैबाट रसुवा (केरुङ) , हँदै यो टोलीले तिब्बत र चीनका विभिन्न स्थान हुँदै ल्हासा पुग्ने र त्यहाँबाट फरक रुट हुँदै पुनः नेपाल फर्किने छ ।
यो यात्रा तय गर्न २२ दिन लाग्ने ओभरल्याण्डका सञ्चालक तथा निर्देकश मदानले जानकारी दिए । २२ दिनको यस यात्रामा टोलीले ३ हजार ५ सय किलोमिटरको यात्रा गर्ने यात्रामा सहभागी आदित्य बोथराले जानकारी दिए ।