काठमाडौं– वैदेशिक रोजगार विभागले सेवाग्राहीको सहजीकरणका लागि गुनासो सुनुवाइसम्बन्धी ‘फोकल पर्सन’ को व्यवस्था गरेको छ । विभागले विभिन्न बहानामा बिचौलिया र अनाधिकृत व्यक्तिहरुबाट सहजीकरणका नाममा सेवाग्राहीहरुसँग तोकिएकोभन्दा बढी शुल्क लिने गरेको र ठगिएको गुनासो आएको भन्दै त्यसको निराकरण गर्न फोकल पर्सनको व्यवस्था गरेको उल्लेख गरेको छ ।
नियमानुसार पेस हुन आएका सम्पादन गर्ने कार्यहरु तथा कार्यालयबाट प्रदान गरिने श्रम स्वीकृतिलगायतका कार्यहरुका लागि कुनै सहजीकरणको आवश्यकता नपर्ने विभागले प्रस्ट पारेको छ । विभाग तथा यसअन्तर्गतका कार्यालयको कार्य समयमा नभएमा वा कार्य प्रक्रिया सम्बन्धमा कुनै द्विविधा भएमा इजाजतपत्रवाला कम्पनी (म्यानपावर)का प्रमुख तथा सेवाग्राहीले सीधै फोकल पर्सनलाई सम्पर्क गरी कार्यसम्पादन गराउन पनि विभागले आग्रह गरेको छ ।
विभागले संस्था तथा प्रशासनसम्बन्धी कार्यका लागि गुरुदत्त सुवेदी, राहत उद्धार तथा अनुगमनसम्बन्धी कार्यका लागि लोकनाथ भुषाल, अनुसन्धान तथा मुद्दासम्बन्धी कार्यका लागि गोविन्द हुमागाई र सरकारी माध्यामबाट इजरायल तथा जापानसम्बन्धी कार्यका लागि गिरिराज ज्ञवालीलाई फोकल पर्सन तोकेको छ । उनीहरु चारै जना विभागका निर्देशक हुन् ।
यसबाहेक विभागले सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरुका लागि पनि फोकल पर्सन तोकेको छ । उल्लिखित फोकल पर्सनबाट सेवाग्राहीका गुनासो सुनुवाइ तथा कार्यसम्पादन नभए विभागका महानिर्देशक वा सम्बन्धित श्रम तथा रोजगार कार्यालयका प्रमुखलाई अवगत गराउन पनि विभागले आग्रह गरेको छ । साथै, विभाग तथा श्रम कार्यालयहरुमा सहायता कक्षमार्फत सहजीकरणको व्यवस्था मिलाइएको विभागले उल्लेख गरेको छ ।
श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसम्बन्धी कार्यहरु अनलाइनमार्फत हुने भएकाले विभिन्न श्रम प्रतिनिधि, बिचौलिया तथा साइबरले सहजीकरणका नाममा तोकिएको शुल्कभन्दा बढी पैसा असुली गर्ने गरेको पाइएको भन्दै विभागले रसिद वा भौचरबमोजिमको रकमबाहेक थप शुल्क नदिन पनि सचेत गराएको छ ।
कार्यसम्पादन तथा सेवा प्रवाहमा भइरहेको कठिनाइ र प्राप्त गुनासाहरुको सम्बोधन गरी वैदेशिक रोजगारसम्बन्धी कार्यलाई सहजीकरण गर्ने उद्देश्यले फोकल पर्सन तोकिएको विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बताए । उनका अनुसार वैदेशिक रोजगारसम्बन्धी कुनै समस्या आए वा कार्यसम्पादनमा ढिलाइ भए सहजीकरणका लागि तत्कालै फोकल पर्सनलाई सम्पर्क गर्न सकिन्छ । यसका लागि फोकल पर्सनको नाम र सम्पर्क नम्बरसमेत विभागको वेवसाइटमा राखिएको महानिर्देशक खत्रीले जानकारी दिए ।