काठमाडौं – वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले उत्पादनमूलकतर्फको दोस्रो चरणको कोरियन भाषा उत्तीर्ण गरी स्किल (सीप) र कम्पिटेन्सी टेस्ट (प्रतिस्पर्धी क्षमता परीक्षण) मा सफल भएकाहरुको सूची सार्वजनिक गरेको छ । उक्त परीक्षामा आठ हजार १५१ जना परीक्षार्थी सफल भएका इपएिस शाखाले जनाएको छ ।
गत भदौ १८ देखि २४ गतेसम्म सञ्चालन भएको स्किल तथा कम्पिटेन्सी टेस्टमा आठ हजार ९३२ जना सहभागी भएका थिए । शाखाले सीप परीक्षणमा उत्तीर्ण भएका सबैको नामावली वेबसाइटमा सार्वजनिक गरेको छ । कोरियाको मानव संशासन विभाग (एचआरडी)ले असोज ३ गते सीप परीक्षा उत्तीर्ण भएकाहरुको सूची दिएपछि नतिजा सार्वजनिक गरिएको इपिएस शाखाले जनाएको छ ।
सीप परीक्षणमा सफल भएकाहरुको नामावली कोरिया जाने रोस्टरमा सूचीकृत गर्नुअघि सबैको स्वास्थ्य परीक्षण हुने बताइएको छ । स्वास्थ्य परीक्षणलगायत अन्य विषयको जानकारी अर्को सूचनामार्फत जानकारी दिइने शाखाले उल्लेख गरेको छ ।
रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियामा जिटुजी सम्झौताअनुसार इपिएस प्रणालीमार्फत नेपाली कामदार पठाउने व्यवस्था छ । त्यसका लागि भाषा परीक्षा अनिवार्य उत्तीर्ण भएको हुनुपर्ने छ । भाषा परीक्षापछि लिइने सीप परीक्षणमा उत्तीर्ण भएकालाई मात्र रोजगारीमा लैजाने सूचीमा राखी प्रक्रिया अगाडि बढाउने गरिएको शाखाले जनाएको छ ।