तेल अभिभ - आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहमा रहेको न्युज च्यानल अल जजिराको कार्यालयमा इजरायली सेनाले छापा मारेको छ । इजरायली सैनिकले अल जजिराको सो कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश दिएको छ ।
आइतबार बिहान, सशस्त्र र मुखौटा लगाएका इजरायली सैनिकहरू प्रत्यक्ष प्रसारणको क्रममा भवनमा प्रवेश गरेका थिए । इजरायली सैनिकहरूले अल जजिराको वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल–ओमारीलाई कार्यालय बन्दको आदेश पत्र दिएका थिए ।
यसलाई प्रत्यक्ष प्रसारणमा पढेर सुनाइएको थियो । यो सबै दर्शकले पनि देखेका थिए । ‘यसरी पत्रकारहरूलाई निशाना बनाउने उद्देश्य सधैं सत्यलाई मेटाउने र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो,’ ओमारीले अल जजीराले उपलब्ध गराएको टिप्पणीहरूमा भनेका छन् ।
अप्रिलको महिनामा इजरायलको संसदले सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी समाचार प्रसारकहरूलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिने कानुन पारित गरेको थियो । आइतबारको छापामा देखिएजस्तै, अल जजिरामा यो प्रतिबन्ध एक पटकमा ४५ दिनको लागि रहनेछ ।
त्यसपछि यो थप विस्तार हुनसक्छ । मे को सुरुमा पनि नजारेथ र पूर्वी जेरुसेलममा रहेको अल जजिराको कार्यालयमा छापा मारिएको थियो । आइतबारको कारबाहीबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।