काठमाडौं– वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीका शाखा कार्यालय असोज मसान्तभित्र नवीकरण गर्न अल्टिमेटम दिएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै म्यानपावर कम्पनीहरुले आफ्ना शाखा कार्यालय नवीकरण गर्न असोज मसान्तभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्ने उल्लेख गरेको छ ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति लिएका म्यानपावर कम्पनीहरुको स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि–२०७९ अनुसार असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने विभागले उल्लेख गरेको छ । सोहीअनुसार म्यानपावरका शाखा कार्यालयको नवीकरण गर्न गराउन आग्रह गरिएको विभागले जनाएको छ ।
कार्यविधिमा उल्लेख भए अनुसार म्यानपावरको शाखा कार्यालय नवीकरणका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने बताइएको छ । त्यस्तै शाखा नवीकरणका लागि अनुमति प्राप्त म्यानपावर कम्पनीको दर्ता प्रमाणपत्र (नवीकरण), अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, शाखा कार्यालय सञ्चालन अनुमतिपत्रको प्रतिलिपि, शाखा कार्यालय नवीकरण गर्नेसम्बन्धी सञ्चालक समितिको निर्णय पेस गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।
यसैगरी नवीकरणसम्बन्धी निवेदन, शाखा दर्ता गर्दा पेस गरेको नगद धरौटीको प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रतिलिपि, शाखा प्रमुख र अन्य कर्मचारीको विवरण र नियुक्ति पत्र, शाखा कार्यालय रहने घरको घर बहाल सम्झौता र बहाल कर तिरेको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने विभागले जनाएको छ । हाल वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने १५० भन्दा बढी म्यानपावर कम्पनीहरुले देशका विभिन्न सहरमा शाखा कार्यालय खोलेका छन् । उनीहरुको विस्तृत विवरण राख्न र अद्यावधिक गराउन पनि नवीकरण अनिवार्य भएको विभागले जनाएको छ ।
त्यस्तै विभागले अर्को एक सूचना जारी गर्दै जापान इन्टरनेसनल ट्रेनिङ एण्ड को–अपरेसन अर्गनाइजेसन (जिटको) अन्तर्गत नेपाली प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउन अनुमतिका लागि सूचीकरणमा पर्न सफल भएका म्यानपावर कम्पनीहरुलाई पनि यथाशीघ्र विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले गत असार ३१ गते जिटकोको अनुमति लिन चाहने म्यानपावर कम्पनीहरुलाई सूचीकरणको लागि आवेदन माग गरेको थियो । तसर्थ प्राप्त आवेदनहरुको मूल्यांकन गरी योग्य म्यानपावरहरुको सूचीकरण गर्ने निर्णय भएको विभागले उल्लेख गरेको छ ।
जिटकोअन्तर्गत जापान जाने प्रशिक्षार्थी कामदारले औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कलकारखाना, कृषि, सहकारी सामुदायिक संघसंस्था, होटल, पर्यटन व्यवसायलगायतका सेवा तथा वस्तु उत्पादनका क्षेत्रमा न्यूनतम दुई वर्षको अनुभव हासिल गरेको हुनुपर्र्ने विभागले जनाएको छ । वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४ र नेपाली प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउनेसम्बन्धी निर्देशिका, २०६६ बमोजिम तोकिएको शुल्क र कागजातसहित आवेदन दिएका म्यानपावर कम्पनीहरुलाई विभागले जिटकोमा सूचीकरण गर्दै आएको छ ।