समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका घटनाहरू बढिरहेका छन् । महिला हिंसा एक संवेदनशील र गम्भीर सामाजिक समस्या बनेको छ । नेपाललगायत विश्वभर नै डरलाग्दा महिला हिंसा र हत्याका घटना दिन प्रतिदिन वृद्धि भइरहेका छन् । यसले समाजको नैतिकता, कानुनी व्यवस्था र मानव अधिकारलाई चुनौती दिएको छ । यो समस्या सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक समस्याको परिणाम हो ।
घरेलु हिंसा, यौन हिंसा, दाइजोको कारण हत्या, मानव तस्करी, जबर्जस्ती विवाह तथा अन्य प्रकारका हिंसाहरूले महिलाको जीवनमा गहिरो प्रभाव पारेका छन् । विश्वभर नै महिला हिंसाका घटनाहरू विकराल बन्दै गइरहेका छन् । बलात्कार, हत्या, अपमान, घरेलु हिंसा र अन्य प्रकारका दुव्र्यवहारहरूले महिलाको जीवनलाई प्रत्यक्ष रूपमा असर पु¥याएको छ । महिला हिंसा रोक्न तत्काल कदम चालिएन भने यसले घर, समाज र राष्ट्रमा नै अझ भयावह रूप लिन सक्छ ।
महिला हिंसा र हत्याका घटनाहरु बढ्दै जानुका कारणहरू विभिन्न छन् । हाम्रो समाजमा अझै पनि पुरुषलाई महिलाभन्दा उच्च स्थानमा राख्ने पितृ सत्तात्मक सोच हाबी छ । महिलालाई पुरुषभन्दा कमजोर, अधीनस्थ र नियन्त्रण गर्ने मानसिकताले महिला हिंसा बढेको छ । समाजमा महिलालाई सम्पत्ति वा वस्तुका रूपमा हेर्ने प्रवृत्तिले हिंसालाई मलजल गरेको छ । महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएर पुरुषहरूमा निर्भर हुँदा र अशिक्षाको कारण उनीहरूको सामाजिक र पारिवारिक स्थिति कमजोर हुन्छ । कमजोर आर्थिक स्थितिका कारण त्यहाँ झैझगडा, बेमेल र द्वन्द्वका कारणले पनि महिलाहरू माथि हिंसा हुने गर्दछ । ग्रामीण क्षेत्रमा अझै पनि महिलाहरू शिक्षाको पहुँचबाट वञ्चित छन् । उनीहरूमा आफ्नो हक, अधिकार र कर्तव्यहरूको ज्ञान हुँदैन । यसले गर्दा हिंसा र दुव्र्यवहार सहनुपर्ने अवस्था रहेको छ ।
केही सांस्कृतिक परम्पराहरूले महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्दछन् । धेरै समाजमा महिलामाथि हुने हिंसालाई सामान्य र सहज रूपमा लिइन्छ र त्यसलाई परम्परागत रूपमा मान्यता दिने गरिएको छ । श्रीमान श्रीमतीको झगडा परालको आगो जस्तै हो भने झैझगडा, कुटपिट, अन्य अत्याचार महिलामाथि हुँदा पनि सामान्य मानिन्छ । यस्तो सामाजिक व्यवहारले पनि समस्यालाई अझ गम्भीर बनाएको छ । विशेषगरी दाइजो प्रथा, बोक्सी प्रथा र छाउपडीजस्ता कुप्रथाहरूका कारण पनि महिलाहरू माथि अन्याय, अत्याचार, अपमान, मानसिक तथा भावनात्मक यातना, कुटपिट, हिंसा र हत्याका घटनाहरू बढिरहेका छन् ।
अर्को प्रमुख कारण कानुनी कार्यान्वयनमा कमजोरी हो । कानुनहरू बनेका भए पनि ती कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, दोषीलाई सजाय नहुनुले महिला हिंसालाई बढावा दिइरहेको छ । प्रहरी प्रशासनमा लैङ्गिक संवेदनशीलताको अभाव, राजनीतिक दबाब, शक्तिको दुरुपयोग आदिले पनि पीडित महिलाहरूले न्याय पाउन सकेका छैनन् । कतिपय ठाउँमा पीडितले न्याय पाउनुको साटो पीडकले छुट पाएको पाइन्छ । यसले गर्दा पीडितले झन् असुरक्षित महसुस गर्नुपरेको छ । क्रूर रूपमा पशुसरह हत्या गरिएका घटनाहरू बाहिरिरहेका छन् । यस्ता घटनाहरूले महिलाहरूको मानसपटलमा थप डर, त्रास र भय सिर्जना गरेको छ ।
महिलामाथि हुने हिंसा र हत्याका घटना न्यूनीकरण र रोकथामका उपायहरू छिटोभन्दा छिटो अवलम्बन गर्नुपर्ने आजको आवश्यकता हो । कानुन बाहिर मात्र पुगेर हुँदैन, महिला हिंसा वृद्धि भएका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता देखिन्छ । महिलामाथि भएका सबै प्रकारका अपराधका दोषीहरूलाई कडा सजायको व्यवस्था गरी कानुनी कठघरामा उभ्याउनु पर्दछ । दोषी कुनै पनि रूपमा उम्कने वातावरण सिर्जना हुन दिनु हुँदैन । हिंसाका घटनाहरूमा छिटोछरितो कानुनी प्रक्रिया पूरा गरी पीडितलाई न्याय दिलाउन सबै पक्षबाट सहयोग र ध्यान दिनुपर्छ । पीडितले तुरुन्त न्याय पाउन सक्ने कानुनी सहायता र सुरक्षा प्रणाली सुनिश्चित गर्नुपर्दछ ।
महिला हिंसा रोक्नका लागि महिलाहरूलाई प्राथमिकता दिँदा उनीहरूले आफ्नो अधिकारको पहिचान गर्न सक्छन् । हिंसा, अन्याय, अत्याचार विरुद्ध लड्न सक्षम हुन्छन् । महिलालाई रोजगारीका अवसर र सीपमूलक तालिमहरू दिएर आर्थिक रूपमा सक्षम र सबल बनाउनुपर्छ । आर्थिक सशक्तीकरणले महिलाहरूको मनोबल वृद्धि भई हिंसाविरुद्ध आवाज उठाउन सक्छन् । सबै खाले हिंसाविरुद्ध व्यापक सामाजिक जागरण अभियान आवश्यक छ । टोल, गाउँ, नगर, विद्यालय र सार्वजनिक ठाउँहरूमा महिला हिंसाविरुद्धका जनचेतनामूलक कार्यक्रम चलाएर समाजलाई शिक्षित बनाउनुपर्छ । मिडिया, कला, साहित्य र सामाजिक संस्थाहरूको माध्यमबाट महिला हिंसाको प्रभावकारी चेतना फैलाउन सकिन्छ । महिला हिंसा समुदायको ठूलो समस्या हो । यसलाई समाधान गर्न समुदायको सक्रिय भूमिकाको आवश्यकता छ । सामाजिक, धार्मिक र राजनीतिक नेताहरूले हिंसाविरुद्ध एकजुट भएर बोल्नुपर्छ । स्थानीय तह र समुदायमा हिंसाका घटनालाई रिपोर्ट गर्न र तुरुन्तै कारबाही गर्न सहकार्य गर्नुपर्छ ।
हिंसाका सिकार भएका महिलाहरूलाई मनोवैज्ञानिक, कानुनी र सामाजिक सहयोग प्रदान गर्न सरकार र गैरसरकारी संस्थाहरूले पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । सङ्कटमा परेका महिलाहरूलाई आश्रय, कानुनी सहायता तथा पुनःस्थापनाको व्यवस्था गर्न आवश्यक छ । हिंसा भएको सूचना परिवार र समाजमा आएपछि पीडित र पीडकलाई सँगै राखेर मेलमिलाप गराउँदा खतरा हुन सक्छ ।
त्यसैले बढी नै संवेदनशील भएका हिंसाका घटनामा पीडित र पीडकलाई सँगै राख्न मिल्दैन । छोरी, दिदीबहिनीको विवाह गरिदिएपछि सबै दायित्व सकियो भने झैं माइती पक्षको सोचमा पनि परिवर्तन ल्याउनुपर्ने देखिन्छ । यदि छोरी दिदीबहिनीहरूले घरमा असुरक्षाको महसुस गरे भने माइती पक्षले पनि इज्जत र प्रतिष्ठाको सवाल उठाएर मिलाउन मात्र खोज्नु हुँदैन, पीडितलाई आश्रय पनि दिनुपर्छ । महिलाहरूले पनि हिंसामा परेपछि चुप लागेर सहनु हुँदैन, सुरक्षित तवरले घटनालाई बाहिर ल्याउनुपर्छ ।
महिला हिंसाविरुद्ध प्रविधिको प्रभावकारी प्रयोग हुनसक्छ । आपत्कालीन अवस्थामा महिलाहरूलाई मद्दत पु¥याउन र प्रहरी तथा अन्य सहायता सेवासम्म पुग्न सहज बनाउन मोबाइल एपहरू, हेल्पलाइनहरू र डिजिटल प्लेटफर्महरू सञ्चालन गर्न सकिन्छ । महिला हिंसाका दोषीलाई कडा सजाय दिनुपर्छ, ताकि यसले अन्यलाई चेतावनीको काम गरोस् । हिंसामा संलग्नलाई कानुनको डर हुन आवश्यक छ ।
बोक्सी, दाइजो र छाउपडी प्रथाजस्ता हानीकारक सांस्कृतिक परम्पराहरू अन्त्य गर्न स्थानीय स्तरमा जनचेतना कार्यक्रमहरू चलाउन जरुरी छ । परम्परागत सोचलाई सुधार्नका लागि धार्मिक अगुवाहरू, सामुदायिक नेताहरू र शिक्षकहरूको सहयोगमा विशेष अभियान चलाउन आवश्यक छ । महिला हिंसा र हत्या एक गम्भीर मानव अधिकारको उल्लङ्घन हो ।
यसको रोकथामका लागि कानुनको कार्यान्वयन, महिला सशक्तीकरण र सामाजिक, शैक्षिक तथा आर्थिकस्तरमा सशक्त कदम चाल्न आवश्यक छ । समाजमा महिलालाई सुरक्षित, सम्मानीत, समानता, न्याय र अवसर प्रदान गर्न प्रत्येक व्यक्ति, परिवार, समुदाय र देशका तर्फबाट पहल गर्नुपर्छ । यसो गर्न सकेमा न्यायपूर्ण, विकसित, सभ्य र अनुशासित तथा भयरहित समाज निर्माण गर्न सक्षम हुनेछौंँ ।
(लेखक नेपाली कांग्रेस गण्डकी प्रदेश शिक्षा, विज्ञान प्रविधि विभाग प्रमुख हुन्)