काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरीक्षण गर्ने मेडिकल व्यवसायीहरुको छाता संगठन नेपाल मेडिकल व्यवसायी संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको सातौं सधारणसभाअन्तर्गत मंगलबार राजधानीमा सम्पन्न निर्वाचनबाट तारानाथ अर्यालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
अध्यक्षका लागि अर्यालको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत किरण शाह ठकुरीले जानकारी दिए । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला दाहाल, उपाध्यक्षमा दिवाकर गौतम, महासचिवमा कृष्णप्रसाद बजगाईं, सचिवमा पंकजकुमार झा र कोषाध्यक्षमा रुनुका खड्का (सदीक्षा) निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा भरत सापकोटा, रमेश आचार्य, विष्णुमाया श्रेष्ठ, बबिन्द्र घिमिरे, विश्वराम सपकोटा, निराजन कँडेल, निरज श्रेष्ठ, सुरेशकुमार राय र आनन्द यादव चयन भएका छन् । संघको विधानअनुसार १७ सदस्यीय कार्यसमितिमा दुई जना सदस्य पछि मनोनीत गरिने संघका नवनिर्वाचित महासचिव बजगाईंले जानकारी दिए ।
संघका निवर्तमान अध्यक्ष सिताराम रेग्मी उपत्यकाबाहिर रहेका कारण उनी आएपछि नयाँ कार्यसमितिलाई प्रमाणपत्र र कार्यभार हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसअघि गत वैशाख २२ गते सम्पन्न साधारणसभामार्फत संघमा सर्वसम्मत कार्यसमिति चयनका लागि पहल भए पनि सहमति जुट्न नसक्दा निर्वाचनका सबै प्रक्रिया स्थगित भएको थियो । यद्यपि, ढिलै भए पनि निरन्तरको छलफल र प्रयासबाट सर्वसम्मतरुपमै कार्यसमिति चयन गर्न सफल भएको महासचिव बजगाईंले बताए ।
‘सिण्डिकेटविरुद्ध व्यवसायीलाई एकताबद्ध गराउँछु’
तारानाथ अर्याल ,नवनिर्वाचित अध्यक्ष
व्यवसायी साथीहरुले सर्वसम्मतरुपमा कार्यसमिति चयन गरेर नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ । यसर्थ व्यवसायी हक हितका लागि स्थापना भएको संघलाई एकताबद्ध गराएर लैजाने मेरो कर्तव्य हुन आउँछ । यो दुई वर्षे कार्यकालमा कुनै पनि किसिमको राजनीतिक रङ संघभित्र प्रवेश हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्दछु । यहाँ हुने भनेको व्यावसायिक हकहित र वैदेशिक रोजगारीमा जाने कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षणको अभ्यासमात्रै हो ।
मेडिकल व्यवसायका क्षेत्रमा थुप्रै समस्या र चुनौती छन् । यसको समधानका लागि व्यवसायीहरुलाई एकताबद्ध गराउने र सहकार्यका साथ संघलाई अगाडि बढाउनुपर्ने छ । अहिले नेतृत्वमा पुग्ने अवसर आएका कारण अझै जिम्मेवारी थपिएका छन् । यदि व्यवसायीहरु नै कमजोर हुन्छन् भने सेवाग्राहीको सुरक्षा गर्न कठिन हुन्छ । व्यवसायमा केही लिकेजहरु पनि छन् त्यसलाई टाल्नुपर्ने अवस्था छ । एउटै प्रकृतिका व्यवसायहरुलाई सिण्डिकेसन गरिएको छ । यसकाविरुद्ध पनि सबै व्यवसायीलाई एकताबद्ध हुन र संघको कार्य सम्पादनका क्रममा कुनै कमीकमजोरी हुन पुगेमा सचेत गाराउन आग्रह गर्दछु ।
‘गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न पहल गर्छु’
कृष्णप्रसाद बजगाईं,नवनिर्वाचित महासचिव
मेडिकल व्यवसायमा भएका चुनौती र समस्या समाधानका लागि यो नयाँ कार्यसमितिले म्याण्डेड पाएको छ । यसका लागि सबै व्यवसायी एकजुट भएर हातेमालो गर्नुपर्ने आवश्यकता छ । मैले महासचिवको भूमिका निर्वाह गर्दैगर्दा पेसागत एवं व्यावसायिक सुरक्षाका लागि नेपाल सरकार तथा सरकारी संयन्त्रसँग बलियो सम्बन्ध स्थापित गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुको गुणस्तरीय स्वास्थ्य परीक्षणको भरपर्दो आधार निर्माण गर्न र नीतिगत त्रुटिहरुलाई सुधार गर्नु पहिलो मुद्दा हो । यसमा सबै व्यवसायीको साथ सहयोग र सहकार्यका लागि आग्रह गर्दछु ।
यस्तै विभिन्न प्रारुपमा रहेका मेडिकल व्यवसायीका संगठनहरुलाई एउटै छाता संगठन बनाउनेसम्बन्धमा सहजीकरण गर्न भरपुर पहल गर्ने छु । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कुनै सौदावाजी नगर्न नगराउन संघको तर्फबाट आवश्यक मापदण्ड बनाइने छ । विदेश जाने कामदारको स्वास्थ्य परीक्षण भइरहेको सिण्डिकेटका विरुद्ध लड्दै सबै स्वास्थ्य संस्थाले सबै मुलुकका लागि स्वास्थ्य परीक्षण गर्न पाउने अधिकार स्थापित गराउन पैरवी गरिने छ । व्यवसायको दायरा फराकिलो पार्दै संघीय संरचनाअनुसार संघलाई प्रदेशहरुमा पनि विस्तार गर्न पहल गरिने छ । यस्तै संघलाई अन्य क्षेत्रका संघसंस्था जस्तै प्रतिस्पर्धी र स्थापित बनाउन प्रविधिमैत्री बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।