एजेन्सी - काठमाडाैंमा गत साता भएको द्विपक्षीय व्यापार तथा लगानीसम्बन्धी एउटा वार्तामा अमेरिकाले आफ्नो देशबाट नेपालमा सुँगुर र कुखुराको मासु निर्यातका लागि सहजीकरण गरिदिन प्रस्ताव राखेको नेपाली अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार अमेरिकी प्रस्तावबारे नेपाली पक्षबाट सकारात्मक जवाफ दिइएको छ र अमेरिकाले त्यसलाई स्वागत गरेको छ। यही भदौ ३१ गते काठमाडाैंमा भएको नेपाल–अमेरिका ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको सातौँ बैठकमा अमेरिकाले त्यस्तो प्रस्ताव राखेको थियो।
बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा पनि उक्त कुरालाई उल्लेख गरिएको छ। नेपाली अधिकारीहरूले नेपालले "खुला व्यापार"को नीति लिएकाले अमेरिकी मासु वा मासुजन्य वस्तु आयातमा कुनै खालको अवरोध नरहेको बताउँदै आएका छन्। यद्यपि अमेरिकाले यसअघिका टिफा काउन्सिल बैठकहरूमा पनि उक्त विषयलाई उठाउने गरेको थियो।
नेपालले के भन्यो?
उक्त बैठकमा नेपालको नेतृत्व गरेका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीका अनुसार नेपालमा अमेरिकी व्यवसायीहरूले सुँगुर र कुखुराको मासु एवं मासुजन्य वस्तु निर्यातका गर्न चाहेको उक्त देशको वार्ता टोलीले बताएको थियो।
उनले भने, "उहाँहरूको चासो अमेरिकी 'पोर्क' र 'पोल्ट्री' निर्यात गर्न अमेरिका चाहन्छ, त्यसका लागि उताको गुणस्तर कायम गर्ने संस्थाको प्रमाणपत्र मानेर यहाँ निर्यात गर्न दिनुपर्छ भन्ने रह्यो।" "हामीले अमेरिकाजस्तो मुलुकले एउटा गुणस्तर कायम गरेर नेपाल पठाउन चाहन्छ भने भविष्यमा त्यसका लागि सकारात्मक छौँ भन्ने हिसाबको छलफल गर्यौँ। त्यो एक खाले प्रतिबद्धता जस्तो भएको छ।"
उनले नेपालले खुला व्यापारको नीति अवलम्बन गरेकाले "कुनै देशको कुनै विशेष उत्पादन"का लागि कुनै बन्देज नलगाइएको स्पष्ट पारेको जानकारी पनि दिए।
उक्त बैठकपछि जारी संयुक्त विज्ञप्तिमा त्यसबारे उल्लेख गरिएको छ।त्यसमा भनिएको छ, "नेपालले अमेरिकी सुँगुर र कुखुराको मासु आयातमा कुनै प्रकारको प्रतिबन्ध नरहेको पुष्टि गरेकोमा अमेरिकाले स्वागत गरेको छ।"
"नेपालले आगामी महिनाहरूमा अमेरिकी सुँगुर र कुखुराको मासु आयात गर्न फूड एन्ड सेफ्टी एन्ड इन्सपेक्सन सर्भिस सर्टिफिकेट (एफएसआईएस फारम-९०६०-५) स्वीकृतिका लागि संयुक्त राज्य अमेरिकालाई आधिकारिक रूपमा सूचित गर्ने आश्वासन दिएको छ।"
- बीबीसी