पार्टी विभाजन गरेर कोही नेता अलग हुन्छ भने त्यहाँ अवसर नपाएर हो भन्ने बुझ्नुपर्छ अर्थात्, राजकीय अवसरका लागि लाखापाखा लागेको भन्नुपर्छ
कृष्ण पोखरेल
राजनीतिशास्त्री
- नागरिक उन्मुक्ति पार्टी ८ असोज, लोकतान्त्रिक समाजवादी पार्टी १ असोज, जसपा नेपाल २३ वैशाखमा विभाजित
- नेकपा एकीकृत समाजवादी पनि विभाजनको डिलमा
काठमाडौं– पश्चिम तराईमा गत आमनिर्वाचनबाट उदाएको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजित भएको छ । उपाध्यक्ष विजयकुमार यादवसहित २६ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको बुधबार घोषणा गरे । उनीहरू राजेन्द्र महतोले हालै घोषणा गरेको दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुने भएका छन् ।
पार्टीबाट अलग हुँदै गर्दा यादवसहितले जारी गरेको विज्ञप्तिमा पार्टी नेतृत्वमा व्यक्तिवादी चरित्र हावी भएको, सैद्धान्तिक विचलन देखिएकोजस्ता आरोप लगाएका छन् । तर, पार्टीका सांसद गंगाराम चौधरीले भने यादवसहितलाई पार्टी हितविपरीतको काम गरेकाले यसअघि नै हटाइसकेको बताए । ‘हामीले उहाँलाई पार्टीबाट कारबाही गरेर हटाएको अस्ति नै हो । पार्टी हितविपरीत काम गर्नुभएको थियो । अहिले अलग भएर केही फरक पर्दैन,’ उनले प्रभावसँग भने ।
प्रतिनिधिसभामा नाउपाको चार जना सांसद छन् । सुदूरपश्चिम प्रदेशमा सात जना सांसद रहेको नाउपाको प्रतिनिधित्व लुम्बिनी र मधेस प्रदेश संसद्मासमेत छ । मंगलबारमात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीले आपसमा गरेको कारबाही फुकुवा गर्दै यही असोजको १८ र १९ गते केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । पार्टीलाई एकताबद्ध बनाएर लाने प्रतिबद्धता दुई नेताको छ । तर, यहीबेला यादवको नेतृत्वमा पार्टी विभाजन भयो ।
विभाजित भएका नेता यादवसहितको टिम छिट्टै महतोको दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गर्ने भएको छ । यादव नेतृत्वमा भएको विभाजनले नाउपालाई सांगठनिकरुपमा कत्तिको क्षति पुर्याउँछ ? अहिल्यै भन्न सकिँदैन । तर, विभाजनको असर धेरथोर पर्ने देखिएको छ । महतो पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट हालै अलग भएका नेता हुन् । उनले दल घोषणा गरेको यही १ असोजमा हो । राष्ट्रिय मुक्ति क्रान्ति गर्न लोसपा अध्यक्ष ठाकुर तयार नभएपछि अलग हुनुपरेको बताएका थिए ।
एकताका मधेसबाट राष्ट्रिय राजनीतिमा प्रभावशाली देखिएका महतोले मुक्ति क्रान्तिका नाममा सानो समूहको नेतृत्व गर्दै आएका छन् । उनले एउटा समूह लिएर अलग भएपछि उता लोसपा झनै कमजोर भएको छ । प्रतिनिधिसभामा चार सिट रहेको यो दलको मधेस संसद् र लुम्बिनी प्रदेश संसद्मा पनि प्रतिनिधित्व छ । पार्टी अध्यक्ष ठाकुर राष्ट्रिय राजनीतिमा मधेसबाट प्रतिनिधित्व गर्ने शीर्ष र ज्येष्ठ नेता हुन् । तर, पार्टी विभाजनपछि सांगठनिकरुपमा कमजोर स्थितिमा पुगेको अवस्था छ । लोसपा नेता केशव झाले महतो नेतृत्वको दललाई मधेसी जनताको वैधानिकता नरहेको दाबी गरे । आगामी चुनावमा महतो र उनको दललाई मधेसी जनताले स्वीकार्ने स्थितिसमेत नहुने उनको भनाइ छ ।
‘मधेसमा कत्तिको संगठन बनाउन सक्छन् ? हामी हेर्दै छौं,’ उनले भने, ‘कसैले उचालेर पार्टी फुटाएको हो । हुनेवाला केही छैन । होइन भने अर्को चुनाव कुरौं ।’मधेस प्रदेशबाट गत चुनावमा वैकल्पिक शक्तिको रूपमा उदाएको दल जनमत पार्टीबाट पनि नेताहरू अलगथलग भइरहेका छन् । कतिपयलाई त पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले कारबाही गरेर पदमुक्त गरेका छन् । केहीलाई निलम्बन गरे । मंगलबारमात्रै जनमतले चार जना केन्द्रीय सदस्यसहित नौ जनालाई जनमतले स्पष्टीकरण सोध्यो ।
५ असोजमा महोत्तरीको जलेश्वरमा भएको पार्टीको प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा होहल्ला गरी कार्यक्रम बिथोलेको र भाँडभैलो गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण मागेको उपाध्यक्षसमेत रहेका पार्टी अनुशासन समिति प्रमुख दीपककुमार साहले बताए ।स्पष्टीकरण मागिने केन्द्रीय सदस्यहरू दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुर रहेका छन् ।
त्यस्तै जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव र साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि रहेका छन् । उनीहरूलाई साधारण सदस्यसमेत नरहनेगरी किन कारबाही हुनु नपर्ने हो भन्नेबारे सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।यसरी दल विभाजन हुने नाउपा, लोसपा र जनमतमात्रै भने होइनन् । पछिल्लो चार वर्षमा जसपा नेपाल तीनपटक फुट्यो । गत २३ वैशाखमा संघीय परिषद् अध्यक्ष अशोककुमार राई नेतृत्वमा जसपा नेपाल फुटेको हो । त्यसअघि डा. बाबुराम भट्टराईको नेतृत्वमा २०७९ मा एउटा समूह जसपा नेपालबाट अलग भयो । नेता महन्थ ठाकुरलगायत नेताहरू जसपाबाट २०७८ सालमै अलग भएका थिए ।
संसद्मा रहेका मझौला आकारका दलमा पनि बारम्बार विभाजन देखिएको छ । हाल संसद्मा १० सिट रहेको दल नेकपा एकीकृत समाजवादी पनि फुटको संघारमा छ । स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि राजनीतिक दल विभाजन सहज हुनेगरी अध्यादेश ल्याउने सम्भावना छ । उनलाई नेतृ रामकुमारी झाँक्री, नेताहरू केशवलाल श्रेष्ठ, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, सांसदहरू प्रेमबहादुर आले, धनबहादुर बुढा, अम्बरबहादुर थापा र कृष्णकुमार श्रेष्ठले पर्खिरहेका छन् । हुन पनि यी नेताहरूको पछिल्ला अभिव्यक्तिले एमालेसँग मिल्नेतिर उनीहरू उन्मुख हुने देखिएको छ । संसद्मा साना तथा मझौला दलहरू एकपछि अर्को फुटिरहेका छन् । केही फुट्ने क्रममा छन् । जबकि, ठूला दलहरू कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र केही वर्षयता फुटेका छैनन् । झनै एकताबद्ध भइरहेका छन् ।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल साना दलमा राजकीय अवसर कम पाउने र अवसरवादी नेता कार्यकर्ताले घरिघरी पार्टी फुटाउने गरेको बताउँछन् । ‘पार्टी विभाजन गरेर कोही नेता अलग हुन्छ भने त्यहाँ अवसर नपाएर हो भन्ने बुझ्नुपर्छ अर्थात्, राजकीय अवसरका लागि लाखापाखा लागेको भन्नुपर्छ,’ उनले प्रभावसँग भने । राजनीतिशास्त्री पोखरेल अवसरबाहेक नेतृत्वमा देखिएको सैद्धान्तिक विचलन, अवसरको असमान वितरण, अलोकतान्त्रिक प्रवृत्तिलगायत कारकले पनि पार्टी विभाजनका लागि नेता कार्यकर्तालाई उत्प्रेरित गर्ने गरेको बताउँछन् ।