नेपालको प्रमुख खाद्यबाली हो, धान । भन्ने नै हो भने सबै नेपालीको भान्सा धान्ने धान नै हो । कृषिप्रधान देशको नाम जपेर नेता तथा कर्मचारीले बर्सेनि विभिन्न योजना बनाए पनि धानबाली उत्पादन भने भगवान् भरोसामा चल्दै आएको छ ।
विज्ञान प्रविधिको युग आएको धेरै भइसक्यो । तर, नेपालको धानबाली लाउँदा सिँचाइ नभएर आकाशेपानीको भर पर्नुपर्छ । बेलामा वर्षा नहुँदा धान रोप्नै मुस्किल हुन्छ । जब धान पाक्नै लाग्दा धानमा भारी वर्षा हुन्छ । यसले वर्षभरि खानपुग्ने धानबाली सखाप हुन्छ ।
वर्षौंदेखि नेपाली किसानले भोग्दै आएको समस्या हो । तर, नेपालमा यससम्बन्धी पूर्वतयारी छ न त कुनै सुरक्षाको उपाय नै । जसका कारण खेतीतर्फ किसानको वितृष्णा बढ्दो छ ।
जनता धनी भए सरकार धनी हुने हो । सरकारलाई जनताको किसानको पीरमर्का बुझ्ने समय नै देखिँदैन । बरु धान खेतीका लागि चाहिने रासायनिक मल किनबेचमा राजनीतिक नेताहरुको बिचौलियासँग मिलेमतो हुन्छ । जसकारण आवश्यक समयमा मल उपलब्ध नहुँदा किसानले अर्को मार खेपिरहेका छन् ।
मौसम विभागले हालैका चार दिन देशभरका ५६ जिल्लामा भारी वर्ष हुनसक्ने पूर्वानुमान गरेको छ । जुन जिल्लामा अहिले धान पाक्ने क्रममा छ । धानमा फूल खेल्ने बेला यही हो । हावाहुरी र भारी वर्षा भए धान उत्पादनमा ठूलो असर पर्छ । अति हावाहुरी र अति भारी वर्षाले धानखेती नै डुबानमा परेको अघिल्ला वर्षहरुमा भोग्दै आएकै हो ।
कञ्चनपुर, कैलालीमा २०७८ को कात्तिकमा वर्षअघि ठूलो नोक्सानी भएको थियो भने लुम्बिनी प्रदेशका ४२ हजार हेक्टर जमिनमा लगाइएको धानमा क्षति पुगेका थियो । पीडित किसानलाई क्षतिपूर्ति दिन सरकारले समितिसमेत गठन गरेको थियो । क्षति भइसकेर क्षतिपूर्ति दिनु एउटा कुरा रह्यो । तर, यसको पूर्वतयारीस्वरुप विकसित देशहरुले किसानका लागि बिमा कार्यक्रमहरु ल्याएका छन् । त्यसैगरी चीन तथा अमेरिकाले क्लाउड सिडिङमार्फत आकाश नै सफा गरिदिने कार्यसमेत गर्न थालेका छन् ।
मुख्य खाद्यबाली नै नष्ट हुनेगरी यस किसिमको प्रकोपलाई नेपालीहरुले अनिष्ट भन्ने गरेका छन् । यस्तो अनिष्ट परेपछि अनिकाल भोग्ने नेपाली परम्परा अहिले वैदेशिक रोजगारीले टारिदिएको छ । तर, वैदेशिक रोजगारीकै लगानीमा फल्न लागेको धानबाली हुरी र वर्षाले नष्ट हुँदा देशकै लागि ठूलो क्षति हो । त्यसैले धानबाली नष्ट हुने नियतको रोकथामका लागि राज्यले लगानी गरोस् ।