हेमराज भट्ट/असल शासन पोष्ट । नेपालगन्ज ।
बाँकेको नरैनापुर गाँउपालिका वडा नं. २ लक्ष्मणपुरमा रहेको एक मात्र माध्यमिक बिद्यालयमा शिक्षक दरबन्दि नहुदा शैक्षिक अवस्था कमजोर बन्दै गएको छ ।
बाँकेको बिकट क्षेत्रको रुपमा चिनिदै आएको राप्तीपारि लक्ष्मणपुर स्थित श्री आदर्श माध्यमिक बिद्यालयले माध्यमिक तहको मान्यता पाएको ३ बर्ष बितिसक्दा समेत सरकारी दरबन्दि नपाउदा पढाई अस्तब्यस्त भएको हो । प्राप्त जानकारी अनुसार सो गाँउपालिकाको वडा नं. १ कटकुईया, वडा नं. २ लक्ष्मणपुर र बडा नं. ३ कालाफाँटा क्षेत्रको लागि एउटा मात्रै माध्यमिक बिद्यालय रहेको सो बिद्यालयमा माबि तहको मान्यता पाएको बर्षै बितिसक्दा समेत हाल सम्म शिक्षकको दरबन्दि आएको छैन ।
बि.स. २०३५ सालमा स्थापना भएको आदर्श बिद्यालयले निमावि हुदै बि.स. २०७१ सालमा माध्यमिक बिद्यालयको रुपमा मान्यता पाएको
थियो । बिद्यालय छ तर पढाउने शिक्षक नहुदा सो क्षेत्रका बिद्यार्थीहरुले बिग्रीएको र धुलाम्य कच्चि सडकमा १÷२ घण्टाको साईकल दुरी पार गर्दै महेन्द्र माबि मटेहियामा अध्ययनका लागि जानु पर्ने बाध्यता रहेको बिद्यार्थीहरु बताउछन् । बिद्यालयले माध्यमिक पढाईको स्विकृती पाए पछि घर नजिकै छोरा छोरीहरुलाई पढाउन सकिने भयो भन्ने सोचिएको थियो तर दक्ष शिक्षक नहुदा नाममात्रैको बिद्यालय भयो एक स्थानियले असल शासन डटकमसँग गुनासो गरे । प्राप्त जानकारी अनुसार हाल सो बिद्यालयमा कक्षा ९ मा जम्मा बिद्यार्थी सख्या ८ जना र कक्षा १० मा १२ जना बिद्यार्थीहरुको नाम दर्ता भएको पाईन्छ तर उनीहरुमध्ये पनि सबै बिद्यालय नआउने गरेको श्रोत बताउछ । बिद्यालयकै एक कर्मचारीले दिएको जानकारी अनुसार सो बिद्यालयमा बढ्ने ८ जना बिद्यार्थीहरु पढाई राम्रो नभएको भन्दै मटेहिया स्थित महेन्द्र माबिमा जाने गरेका छन् ।
नरैनापुर क्षेत्रकै पुरानो सो बिद्यालयको संरचना समेत अप्रयाप्त रहेको देखिन्छ । हाल बिद्यालयले ६ कक्षा कोठामा १० सम्मको पढाई गर्दै आएको जनाएके छ । बेन्चहरुको पनि कमी रहेका कारण बिद्यालयले दुई तिन कक्षाहरुलाई एकै स्थानमा राखेर पढाउने गरेको एक शिक्षकले बताए । जानकारी अनुसार सो बिद्यालयमा हाल ३ जना निमाबि र २ जना प्राबि शिक्षकहरुको दरबन्दि रहेको छ । भने माध्यमिक तहको पढाईका लागि भन्दै ३ जना शिक्षकहरुलाई निजि श्रोतबाट ब्यवस्थापन गरिएको छ । बिद्यालयमा शिक्षकको दरबन्दि नहुनु, बिद्यालयमा कक्षा कोठा तथा बेन्चहरुको समेत उचित ब्यवस्था नहुदा बिद्यार्थीहरुको बिद्यालय प्रतिको आकर्षण घट्दै गएको अभिभावकहरु बताउछन् । अर्को तिर बाँकेको नरैनापुर गाँउपालिकामा अन्य क्षेत्रको तुलनामा साक्षरता दर कम रहेकाले समेत बिद्यालयमा बिद्यार्थीहरु सख्यात्मक रुपमा कम हुने गरेको जानकारहरु बताउछन् । हाल कक्षा १ देखि १० कक्षा सम्म ३ सय ८५ जना बिद्यार्थीले भर्ना गरेको अभिलेखले देखाउछ जुन सख्यात्मक रुपमा हेर्दा निकै कम हो । श्रोतले दिएको जानकारी अनुसार भर्ना गरिएको बिद्यार्थी सख्याको तुलनामा बिद्यालय आउनेको सख्या निकै न्यून छ । बिद्यालयलाई जिल्ला तहले प्राथमिकतामा नराख्दा यस्तो समस्या आएको एक कर्मचारीले बताए । साच्चिकै जिल्लाले नै चासो नदिएको हो त यस बारेमा सो क्षेत्र हेर्ने जिल्ला शिक्षा कार्यालयका बिनी त्रीलोकी नाथ मौर्य निरन्तरको पहल र माग गर्दा समेत सफल नभएको बताउछन् । जिल्ला शिक्षा कार्यालयले सो बारेमा चासो नदिएको उनको भनाई थियो । यस बारेमा बिद्यालयका प्रधानाध्यापक मदन कृष्ण श्रीवास्तबलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
उता भ्रखरै मात्र निर्वाचित भई नरैनापुर गाँउपालिकाको अगुवाई गरिरहेका नरैनापुर गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले गाँउपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए । गाँउपालिकाको नेतृत्व लिएसँगै शैक्षिक अवस्था कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा कार्ययोजना निर्माण गर्दै सोही अनुरुप बजेट समेत बिनीयोजन गर्ने गरि काम गरिरहेको उनले बताए । सो बिद्यालयको अवस्थाका बारेमा निकै चिन्तिक रहेको भन्दै अध्यक्ष शाहले बिद्यालयको स्तर उन्नतीका लागि कार्यक्रम तयार गरेको जनाए । शिक्षक दरबन्दिका बिषयमा जिल्ला शिक्षा अधिकारी भिम बहादुर साँउदालाई सम्पर्क गर्दा जिल्लामा शिक्षक दरबन्दिको अभाव रहेकाले दिन नसकिएको बताए । राप्ती पारि भनेर नहेरेको होईन उनले भने सरकारी मापदण्ड अनुसार न्यूनतम माबि बिद्यालयमा ५ जना शिक्षक हुनुपर्ने हुन्छ जिल्लामा निकै कम बिद्यालयमा मात्रै दरबन्दि पूर्ण छ । कतैबाट कटौती गरेर दिन सकिने अवस्था समेत नरहेको उनको भनाई थियो । उनका अनुसार बाँके जिल्लामा हाल झण्डै ५० प्रतिशत बढी बिद्यालयमा माबि शिक्षकको दरबन्दि अभाव
रहेको छ । नरैनापुरको कटकुईँया देखि गंगापुर सम्म ३ ओटा मात्रै माध्यमिक बिद्यालय संचालीत छन् । शैक्षिक क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको सो क्षेत्रमा सबै गरी २१ सरकारी बिद्यालय, २३ मदर्शा र १ ओटा बोडिङ्ग स्कुल संचालन हुदै आएका छन् । सो क्षेत्रमा शैक्षिक जागरण फैलाउन सम्बन्धित नियकाले आवश्यक पहल कदमी चाल्न आवश्यक देखिन्छ ।