काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले आफूसँग भएको सेयरहरू धितो राखि अनलाइनबाट सरल प्रकृयाबाट फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको हाे ।
बैंकका अनुसार सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्ने बैंकले जनाएकाे छ ।
यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्ने छन् । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको छ । यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन । यो सुविधा हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि बैंकले उपलब्ध गराएकाे छ ।
ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक भएकाे छ । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।