काठमाडौं - ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूलनाराका साथ यही असोज १३ गते आइतबारदेखि ‘घरेलु उद्यमी मेला तथा दसैँ महोत्सव २०८१’ आयोजना हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने उक्त मेलाबारे जानकारी गराएको हो ।
मेला आयोजक समितिका संयोजक जीतेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौँका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनको जिल्लास्तरीय औद्योगिक प्रदर्शनी गर्न लागिएको जानकारी दिए । महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगको सहभागिता रहने उनले बताए ।
मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टल रहने जनाइएको छ । प्रदर्शनीसँगै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका आकर्षणको रुपमा रहेने आयोजकको भनाइ छ ।
घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँकी अध्यक्ष पद्मकुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धन र बजारीकरण गरी स्वदेशी वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।