काठमाडौं — लिग विजेता मछिन्द्र क्लबले माईभ्याली गोल्डकपको छैटौं संस्करणको उपाधि जितेको छ ।
शनिबार ईलामको टुँडिखेलमा भएको फाईनलमा आयोजक माईभ्याली क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो ।
अतिरिक्त समयमा विदेशी खेलाडी आन्द्रेस नियाले मछिन्द्रका लागि विजयी गोल गरे । मछिन्द्रले पहिलो पटक माईभ्याली गोल्डकपको उपाधि उचालेको हो । दुवै टिम पहिलो पटक फाईनल पुगेका थिए ।
मच्छिन्द्रले सिजनको तेस्रो उपाधि हात पारेको छ । मोफसलमा भने मच्छिन्द्रको यो दोस्रो गोल्डकप उपाधि हो । उसले यसअघि झापामा भएको सताक्षी गोल्डकपको उपाधि जितेको थियो । यस बर्षको लिग च्याम्पियन बनेको मच्छिन्द्र बुढासुब्बा गोल्डकपमा फाईनल यात्रा तय गर्न सकेको थिएन ।
उपाधिसँगै मच्छिन्द्रले ८ लाख रूपैयाँ प्राप्त गरेको छ । उपविजेता आयोजकले ५ लाख रूपैयाँ पाएको छ ।