रियाद–साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ । यी तीनजनालाई शुक्रबार बिहान नै पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले जनाएका छन् ।
पक्राउ परेका तीनमध्ये दुई पुरुष सदस्य देशका प्रभावशाली व्यक्तित्व भएका जनाइएको छ । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ ।
सन् २०१७ मा युवराजले मोहम्मद बिन सलमानले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएका थिए । सन् २०१६ मा युवराज घोषणा गरेपछि सलमानले देशका शासन गर्दै आएको पाइन्छ ।
गिरफ्तार गरिएका तीनजना पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्वयुवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन् । मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए । शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोसाकमा आएका र उनीहरूका घर खानतलासी गरेका द वाल स्ट्रिट जर्नलले जनाएको छ ।
असाध्यै पुरातनवादी मुलुक साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६ मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तरराष्ट्रियस्तरमा प्रशंसा भएको थियो ।
पछिल्ला दिनमा साउदी अरेबिया घातक कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्ने उपायमा लागिरहेको छ । विदेशी तीर्थयात्रुहरूलाई तीर्थयात्रा गर्न रोक लगाइएको छ र धेरै महत्वपूर्ण वार्षिक हज होला कि नहोला भन्ने पनि प्रश्न उठेको छ । गत बिहीवार इस्लाम धर्मावलम्बीको पवित्र शहर मक्कालाई पूर्णरूपमा सफा गर्न खाली गरिएको थियो । (रासस÷एएफपी)