काठमाडौं– गायन रियालिटी शो वाईवाई नेपाल स्टारको प्रसारण शनिबार राती ९ बजेदेखि नेपाल टेलिभिजनमा सुरु भएको छ । नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लिले उत्पादन गरेको शोको पहिलो एपिसोडमा पोखरा अडिसनलाई प्रसारण गर्न लागिएको कार्यक्रम निर्देशक रवि श्रेष्ठले जानकारी दिए ।
गत २९ पुसमा बाराही माबी मालेपाटनमा पोखरा अडिसन सम्पन्न भएको थियो । शोमा गायक रामकृष्ण ढकाल, गायिक अञ्जु पन्त र संगीतकार आलेकश्री निर्णायकको भुमिकामा छन् । कार्यक्रम प्रस्तोताको रूपमा सञ्जोक बस्याल र निशा पाठक रहेका छन् । पोखरामा लामो समय सञ्चार क्षेत्रमा सक्रिय रहेर काम गरेका बस्याल पहिलोपटक टेलिभिजनको पर्दामा कार्यक्रम सञ्चालकको भुमिकामा देखिएका हुन् । बस्यालसँगै प्रस्तोताको रूपमा रहेकी पाठक मिस ग्राण्ड नेपाल–२०१९ की बिजेता हुन् । पाठकले कार्यक्रम बनाउँदा निकै मिहेनत गरेका कारण दर्शकले मनपराउने विश्वास व्यक्त गरिन् । ‘एकदम खुशी लागेको छ, नेपालको आफ्नै मौलिक शो होस्ट गर्न पाउँदा पाठकले भनिन्, ‘पहिलो एपिसोड भएकोले डर लागिराछ, विश्वास छ दर्शकले मनपराउनु हुनेछ ।’
कार्यक्रम निर्देशक श्रेष्ठले ४ देखि ५ वटा राउण्ड गरि कुल ३६ वटा एपिसोड प्रसारण गरिने जानकारी दिए । ‘हाललाई ३६ वटा एपिसोड छ । तर, बढ्न पनि सक्छ’, श्रेष्ठले भने ‘कस्तो किसिको प्रतिक्रिया आउँछ भन्नेमा खुल्दुली छ । तर जे जस्तो आउँछ त्यसलाई हामी स्विकार्छौँ ।’ प्रतियोगिताका लागि सात प्रदेश र काठमाडौंसहित ८ स्थानमा अडिसन लिइएको थियो ।