हरेक विपद्मा सरकारले हरतरह प्रयास गर्दा पनि न त पूर्वतयारीमा सन्तोषजनक काम गर्न सकेको छ न त प्रतिकार्य नै । यसपछि सरकार आलोचित हुन्छ । सरकारको नेतृत्व गरिरहेकाहरुको कयौ कमीकमजोरी छन् । सरकारको यस्तै कमजोरी औंल्याउँदा हरेक निर्वाचनपछि नयाँ दलको जन्म पनि भएको छ ।
तर नयाँ दलले पनि विपद् पूर्वतयारीबारे कुनै योजना बनाउन सकिरहेका छैनन् । वर्षा, भूकम्प, बाढी, पहिरो, अत्याधिक गर्मी, अत्याधिक जाडोजस्ता विषयलाई प्राकृतिक विपत्तिका रुपमा लिइन्छ । तर के यी विपद्हरु प्राकृतिक हुन् त ? केही समयअघिसम्म यस विषयलाई दैवी प्रकोपका रुपमा लिइन्थ्यो । अहिले यसलाई प्रकृतिसँग जोडिन थालिएको हो ।
काठमाडौंमै पनि यसपटकको वर्षा ठुलो नभएको तर त्यही वर्षाले बितण्डा मच्चाएकोबारे सरकारले अध्ययन गर्न जरुरी छ । अहिले जमिनको सतह पुरै सिमेन्टले टालिएको छ । पानी माटोमा रिचार्ज नै हुन पाउँदैन । मतलब पानीलाई सहरबासीले लखेटेर खोलातिर पठाउँछ । यसो गर्दा एक त साबिक माटो विस्तारै मर्दैजान्छ भने सानो पानी पर्दा पनि खोला ठुलो हुन्छ । गत शनिबारको नख्खु खोलाको घटनालाई यससँग दाँज्न सकिन्छ । यही पानी सबैतिरबाट जम्मा हुँदा बाढीको रुप लिन्छ र विपद् यसैले सिर्जना गराइदिन्छ । यसैले यसमा प्रश्न गरौं, के यो प्राकृतिले सिर्जना गरेको विपद् हो त ?
अर्को विषय रह्यो, बीपी राजमार्गको । अहिले बीपी राजमार्गका १२ स्थानमा नै पत्ता लगाउन नसक्नेगरी सडक बगाएको छ । यो क्षेत्रमा २२ वटा क्रसर उद्योग र ढुंगाखानी रहेको पाइएको छ । राजनीतिक र प्रशासनिक आडमा प्रकृतिको दोहन गरी अर्बौ कमाउने संयन्त्र मानिसले नै बनाएका हुन् । जसकारण अहिले मधेश र कोशीलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने बीपी राजमार्ग तहसनहस भएको छ । के यो प्रकृतिले सिर्जना गरेको विपद् हो त ?
धादिङको झ्याप्ले खोलामा पनि यस्तै खाले घटना भयो । धेरैले यात्राकै क्रममा बसभित्रै पहिरोले पुरिएर ज्यान गुमाए । यसपटक मौसम पूर्वानुमान महाशाखाले उच्च जोखिम भन्दै ५६ जिल्लालाई रेड जोनमा राखेको थियो । अति भारी वर्षा हुने भनी सचेत पार्दा पनि प्रशासन, व्यवसायी र नागरिक सबैले यसलाई अटेर गरी सवारी साधानमा यात्रा गरे । जसकारण त्यही पहिरोमामात्रै ३५ जनाको मृत्यु भयो । यसरी यो विपद्मा जानीजानी नागरिकस्तरबाट पनि गल्ती भएका छन् । सरकारलाई प्रश्न गर्नुअघि, अरुलाई प्रश्न गर्नुअघि हामी आफै पनि सच्चिने कि ∕