यही असोज ११ र १२ गतेको अविरल वर्षापछि प्रभावित जिल्ला र पालिकाका नागरिकहरुको खानपान जीवनशैली र बसोबासमा असर परेको छ । उपलब्ध आधारभूत सेवा खानेपानी, शौचालय, बत्ती, स्वास्थ्य सबै आधारभूत सेवामा असर परेको छ । तत्काल खोज, उद्धार, राहत र उपचारपछि अब महामारीको जोखिम कसरी कम गर्नेमा सबैको ध्यान जरुरी छ । प्रदूषित पानी, खाना, लामखुट्टेको वृद्धि र विकास, अस्वस्थ तथा पानीको न्यून उपलब्धता, सामूहिक विकास र भएको धनजनको क्षतिले पारेको मानसिक समस्याले सङ्क्रमण र प्रकोपको जोखिम बढाउँछ ।
मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति भनेको स्वास्थ्य हो । अस्वस्थ भइसकेपछि उपचार गर्ने र स्वस्थ हुने प्रयत्नभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा बढी सुरक्षा र बुद्धिमता मानिन्छ । नेपाल खुला दिसाामुक्त देश घोषणा भएको २०७६ देखि हाल चार वर्ष नाघे पनि तराईमा मैदान जाने क्रममा कमी आएको छैन । खानेपानी मन्त्रालयका अनुसार एक दशकअघि कुल ८५ प्रतिशतमाझ खानेपानीको पहुँच पुगेकामा हाल ९४ प्रतिशत र ७५ प्रतिशत घरमा शौचालय रहेकामा हाल ९५ प्रतिशत पुगेको छ । त्यस्तै देशभर १० प्रतिशत ढलसहितको व्यवस्थापन र प्रशोधित फोहरपानीको स्तर तीन प्रतिशतमा सिमित छ ।
तथापि सरसफाईजन्य सङ्क्रमणमा उल्लेखनीय कमी आएको छैन । किनभने पूर्ण सरसफाईका ५+१ विषय र सूचकहरुका कार्यान्वयन नै पूर्ण सरसफाइयुक्त हो । उक्त विषय र सूचकहरुमा चर्पीको प्रयोग, पानी प्रयोगसम्बन्धी सुरक्षित व्यवहार, साबुनपानीले हातधुने बानी (चर्पीको प्रयोग पछि, खाना बनाउनु, खानु र खुवाउनु अघि, कुनै फोहर कुरा वा विषादी छोएपछि र बिरामी तथा बच्चाको स्याहार गर्नुअघि र पछि), खाना प्रयोगसम्बन्धी सुरक्षित व्यवहार, सफा घरआँगन र सफा वातावरण पर्दछन् ।
रोगीको मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभावी नफाली खाल्डोभित्र पुर्नुपर्दछ । खानेकुरालाई झिंगाबाट बचाउनु पर्दछ । झिगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्य पदार्थ खानु हुुँदैन । बजारको बरफ, आइसक्रिम तथा दुग्धजन्य पदार्थ खानु हुुँदैन । आफैँले बोक्रा ताछेका फलहरु मात्र खाऔँ ।
तातो खाना, तरकारी राम्ररी पकाएर मात्र खाऔँ । सम्भव भए दाँत माझ्दा पनि उमालेर चिसिएको पानी प्रयोग गर्नु राम्रो हुन्छ । गाजर, मूलालगायतका हरियो सलाद सङ्क्रमणमुक्त बनाएर मात्र सेवन गर्नुपर्दछ । उपलब्ध सबै तरल पदार्थहरु उमालेर मात्र प्रयोग गर्नुपर्दछ । पटकपटक र कम्तीमा खाना खानुअघि र दिसापिसाबपछि सङ्क्रमणमुक्त झोल वा साबुनले हात धुनै पर्दछ । भान्साकोठामा प्रयोग गरिने सबै सरसामान सङ्क्रमणमुक्त बनाएर मात्र प्रयोग गर्नुपर्दछ ।
हात धुँदाका फाइदा
झाडापखाला सबैभन्दा बढी खानेपानी र सरसफाई हात नधोएर नै हुुने गर्दछ । शुद्ध खानेपानी र सरसफाईका कारण ८८ प्रतिशत झाडापखाला हुने गर्दछ, मिचीमिची साबुनपानीले हात धुँदा झाडापखाला लाग्ने दर र मृत्यृदर आधा वा ४५ प्रतिशतले कम हुन जान्छ । साबुनपानीले हातधुने बानी बसाल्दा श्वासप्रश्वासजन्य सङ्क्रामक रोगहरु तथा त्यसबाट हुने मृत्यृ ५० प्रतिशत कम हुन्छ । सुँडेनीले हात धोएर प्रशव गराउँदा १९ प्रतिशत तथा सुत्केरी आमाले साबुनपानीले हात धोएर नवजात शिशुको स्याहार गर्दा ४४ प्रतिशतले नवजात शिशुको मृत्यृदरमा कमी आउँछ । विद्यालयमा साबुनपानीले हात धुवाउँदा बालबालिकामा लाग्ने सङ्क्रामक रोग ५० ले कम हुछ । झाडापखालालाई पानीजन्य रोग भनिए पनि हातधुने बानीले कम गर्न सकिने डब्लुएचओले जनाएको छ ।
लण्डन स्कुल अफ हाइजिनलगायतका विभिन्न निकायहरुको खोज, अनुसन्धानमा हातधुने बानीले छातीको सङ्क्रमण, निमोनिया हुने दर, पेटमा जुका, छाला र आँखाको सङ्क्रमण समेत न्यून हुन्छ । अमेरिकाको सिडिसीका अनुसार उचित तरिकाले हात धोएर आधाजति खाद्यजन्य रोगहरु पनि कम गर्न सकिन्छ । स्कुले विद्यार्थीमा गरिएको सर्वेक्षणमा चार पटक हात धुनेमा श्वासप्रश्वास रोग २४ प्रतिशत र पेटसम्बन्धी रोग ५१ प्रतिशतले कम भएको देखिएको छ । सङ्क्रमणको कारण खानामा विषाक्त हुने, पेट दुख्ने, झाडापखाला लाग्ने, बान्ता हुने, टाउको दुख्ने तथा पेटमा अन्य रोग लाग्न सक्दछ । प्रतिरोधात्मक क्षमता कम भएका तथा दीर्घरोगीलाई तुरुन्तै असर देखिन सक्छ । बालबालिका र वृद्धाहरुमा बढी समस्या देखिने सम्भावना हुन्छ । तसथ, विपद र बाढी, पहिरो र डुबानपछि झनै हातको सरसफाइको महत्व छ ।
लामखुट्टेजन्य रोगहरु
अव्यवस्थित सहरीकरण, स्वास्थ्य असावधानी तथा मौसम परिवर्तनका कारण डेंगु, औलो, कालाजार, हात्तीपाइलेलगायतका किटजन्य रोग दिन प्रतिदिन बढ्दै र प्रकोपको रुप लिंदैछ । जनस्वास्थ्यका दृष्टिले रोगको उपचारभन्दा नियन्त्रण महत्वपुर्ण रहन्छ । यसका लागि लामखुट्टको बासस्थान, जीवनचक्र, सार्ने किटाणुका प्रकार, स्वरुप आदिका बारेमा गहन अनुसन्धान हुनु पर्दछ । यसैका लागि स्थापना भएको कीटजन्य रोग अनुसन्धान केन्द्र त्यत्ति प्रभावकारी रुपमा अघि बढेको देखिंदैन ।
लामखुट्टेको टोकाइबाट ब्याक्टेरिया, भाइरस र परजिवीद्वारा लाग्ने छ खतरनाक रोगहरु पर्दछन । सङ्क्रमित एनोफिलिज लामखुट्टेको टोकाइले प्लाज्मोडियम परजीवीबाट लाग्ने औलो, एडिज एजिप्टाई र केही हदसम्म अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो, एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट जिका फिवर, एडिज एजिप्टाई र अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट चिकनगुनिया, लामखुट्टेको टोकाइबाट बुचेरीया ब्यान्क्राफ्टी, ब्रुइयामलयी, बु्रइयाटिमोरीजस्ता परजीवीले लिम्फेटिक फिलिरियासिस र लामखुट्टेको टोकाइबाट जाप्नीज इन्सेफलाइटिस पर्दछन् । संसारभर लामखुट्टेको टोकाइबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यृ हुने गरेको छ । यसको अधिकांश हिस्सा औलोले लिने गरेको छ ।
सफा पानीमा पाइने पोथी एडिस एजिप्टीले दिउँसो मात्र टोक्दा हुने डेंगु सङ्क्रमण टाइप १ बाट २ मा जाने, मृत्यृ कम हुने क्लासिकबाट बढी मृत्यृ हुने हेमोरेजिक र शक डेंगुमा जानसक्ने, मुलुकका केही स्थानका ठूला अस्पताल र मेडिकल कलेजमा मात्र उपलब्ध भेन्टिलेटर, जनचेतनामा कमी, रक्तसञ्चार सेवा तथा रगतको अभाव आदिले सङ्क्रमण बढे धेरै धनजनको क्षति हुनसक्छ । औलो उन्मूलन भइसकेको घोषणा गरिएको भनिए पनि नेपाल सरकार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार नेपालका ६५ वटा जिल्ला (५२ वटा सामान्य समस्याग्रस्त र १३ अति नै प्रभावित) र ७५ प्रतिशतभन्दा बढी जनता अझै पनि जोखिममा छन् । त्यसो त महामारी देखाउने औलो, डेंगु, इन्सेफलाइटिस्, फिलिरियालगायतका भेक्टरबर्न सङ्क्रमण लामखुट्टेको टोकाइबाट मात्र सर्दछ ।
यस्ता रोग फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन । तसर्थ रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु पर्दछ । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस पनि जोगिने गर्नु पर्दछ । कुनै पनि किसिमको पानी जम्ने ठाउँ हुनु हुँदैन, फोहोरलाई पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गर्नुपर्दछ । लामखुट्टेको टोकाइबाट बच्न घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा किटनाशक झुलको प्रयोग गर्ने, पङ्खा, एयरकुलर, एयर कण्डिसन प्रयोग गर्ने गर्नुपर्छ ।
जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे भगाउने धुप, झोलको प्रयोग गर्ने, घर बाहिर जाँदा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित क्षेत्रमा जाँदा वा बस्दा पूरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रङको कमिज र पाइन्ट लगाउनु पर्दछ् । लामखुट्टेको नाश गर्न आ–आफ्नो घरगोठमा कीटनाशक औषधि छर्कने, औषधि छर्केको तीनदेखि छ महिनामासम्म लामखुट्टे मर्ने भएकाले किटनाशक छर्केको भित्तामा कम्तिमा तीन महिनासम्म लिपपोत नगर्ने, किटनाशकयुक्त झुलको प्रयोग गर्ने, पानी सोस्ने रुखहरु जामुन, सिमल, मसला रोप्नुपर्छ ।
सडकका खाल्डाखुल्डी पुर्ने, पोखरी, इनार र कुलोको वरिपरीको घाँसपात सफा गर्ने, मट्टितेल, डिजल, डिडिटी मालाथियन, क्लोडिन, डेल्ड्रिन छर्कने, जमेको पानीलाईं बग्नदिने गर्नु पर्दछ । लामखुट्टेको बच्चा विनाश गर्न लामखुट्टेले विशेषगरी जमेको पानीमा फुल पार्ने र प्रजनन् गर्ने भएकाले त्यस्ता खाल्डा तुरुन्त पुरिदिएमा वा सात दिनभित्र सुकाउने, जमेको पानीलाई बगाइदिने गर्दा फुल र लार्भाहरु मर्दछन् । गाउँका पोखरी, दह, तलाउ, नाला र खाल्डामा लामखुट्टेको लार्भा खाने माछा पाल्ने, घर वरिपरि जमेको पानीमा मट्टितेल, डिजल, डिडिटी छर्कने, जामुन, सिमल, मसलाजस्ता पानी सोस्ने रुखहरु पानी जम्ने ठाउँमा रोप्ने गर्दा पनि बच्न सकिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्यमा प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य, समन्वयमा स्थानीय तहका द्रूत प्रतिकार्य टोली परिचालन, नियमित केस अनुसन्धान, प्रभावित स्थानमा थप सक्रिय बिरामीको खोजी, सम्पर्कमा रहेकाहरुको लक्षणको निगरानी तथा स्वास्थ्य शिक्षाका सामग्रीहरु तयार र प्रशारण गरिरहेको छ । निगरानीअन्तर्गत झाडापखालाका बिरामीहरुको एक सय ४४ अस्पतालमा नियमित रुपमा हैजाको निगरानी, खानेपानीको गुणस्तरमा निगरानी, एउटै टोलमा एक हप्तामा पाँच जना बढीमा झाडापखालाका बिरामी देखिएमा टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।
बिरामी देखिएका स्थानहरुमा खानेपानीको नमुना जाँच, खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाईका जनचेतनामूलक कार्यक्रम सञ्चालन, खानेपानी शुद्धीकरणजस्त कार्यहरु स्थानीय तह र विकास साझेदारसँगको समन्वयमा भइरहेको छ । खानेपानी गुणस्तर समितिलाई सक्रिय बनाइएको छ । आवश्यकतानुसार विज्ञ परिचालन र अन्तरमन्त्रालय, प्रदेश, तह एकिकृत समन्वय तथा सहकार्य गर्देछ । एकिकृत पानीजन्य स्वास्थ्य प्रकोप नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयका सहसचिवको नेतृत्वमा सात सदस्यीय समिति बनेको छ ।
स्वास्थ्य संस्थाभित्र पनि बाढी
असोज ११ र १२ गतेको अविरल वर्षापछि देशभरका ५७ वटा स्वास्थ्य संस्थाहरुमा क्षति पुगेको छ । यसमा पाँच वटामा पूरै क्षति भएकाले अस्थायी पाल वा टहराबाट आधारभूत सेवा प्रदान गरिरहेका छन् । स्वास्थ्य संस्थामा बाढी पसेपछि र डुबानमा परेपछि किटाणुयुक्त भएकाले ज्ञात अज्ञात सङ्क्रमण फैलने जोखिम छ । पानी जम्मा रहँदा डेंगीलगायत किटजन्य सङ्क्रमण बढ्नसक्छ, लेप्टोस्पाइरोसिस हुनसक्छ । काठमाडौँका धेरै अस्पतालहरुमा बाढीको हिलाम्यै पानी पसेको सम्भवत पहिलो पटक हो ।
यसले उपचाररत बिरामीलाई भिन्दै अस्पतालमा सार्नु परेको थियो भने उपचारका लागि जानेमा समेत प्रभाव पारेको छ । ती अस्पताललाई सङ्क्रमणरहित बनाउनुपर्ने पहिलो आवश्यकता छ । घरवारविहिन बालबालिका, गर्भवती महिला र दीर्घरोगी जेष्ठ नागरिकहरु सबैभन्दा बढी प्रभावित र जोखिममा छन् । सङ्क्रमणयुक्त स्वास्थ्य संस्थाहरुबाट सङ्क्रामक रोगहरुको उच्च जोखिम रहन्छ, जसलाई हस्पिटल एक्वाइरड अर्थात नोसोकोमियल इन्फेक्सन भनिन्छ । यस्तो समय अस्पतालमा हुने सङ्क्रमण नियन्त्रण इकाई सक्रिय हुन जरुरी हुन्छ ।
जुनसुकै स्रोत र मुहानको पानी भए पनि उमालेको वा क्लोरिन÷आयोडिनले उपचार गरिएको पानी मात्र प्रयोग गर्नु पर्दछ । क्याण्डिल फिल्टरले रोग उत्पन्न गर्ने किटाणु छान्न नसक्ने भएकाले पानी उमालेर प्रयोग गर्नुपर्छ । पाँच मिनेटसम्म उमालेर सफा भाडोमा चिसो पारेर राखेको पानी मात्र सेवन गर्नु पर्दछ । शुद्ध खाना, खानेपानी, पर्याप्त सरसफाई, व्यक्तिगत स्वच्छता नै हैजालगायतका खाना र पानीजन्य सङ्क्रमणबाट बचाउ गर्ने उपाय हुन् ।
स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षा पनि उत्तिकै महत्वपूर्ण कारक हुन् । तथ्याड्ढअनुसार सरसफाईमा सुधारले झाडापखालाले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ । खानेपानीको गुणस्तरमा सुधारले २५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिन्छ । स्वच्छ पानी, सरसफाई, व्यक्तिगत स्वच्छता तथा हात धुनेजस्ता स्वास्थ्य शिक्षामार्फत झाडापखाला ४५ प्रतिशतसम्म कम गर्न सकिन्छ । खानेपानीलाई क्लोरीनेसन गरेर शुद्ध बनाउँदा झाडापखाला ३९ प्रतिशतसम्म कम गर्न सकिने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
अन्तमा, झाडापखालाजन्य रोगहरु, हैजा, जण्डिस, आउँ, टाइफाइड, झाडापखाला, बान्ता, पेटका रोग, श्वासनलीका रोग, सार्स, घाँटीको सङ्क्रमण, हेपाटाइटिस ए र ई, जुका, ट्राइकुरियोसिस, आँखापाक्ने, ट्रकोमा, निमोनिया, रुघाखोकी, फ्लु, स्वाइनफ्लु, बर्डफ्लु, क्षयरोग, छालाजन्य सङ्क्रमण र रोगलगायतका निकै सङ्क्रामक रोगहरु र ८० प्रतिशतभन्दा बढी रोगहरु पनि साबुनपानीले हात धुँदा रोक्न सकिन्छ । मिचीमिची साबुनपानीले हात धुँदा किटाणु, चिल्लोपना र फोहर टुँक्रिन्छ र हात मिच्न, घर्षण गराउन, सजिलो, सफा सुगन्धले प्रोत्साहन दिन्छ ।
पानीको सेवन उमालेर मात्र प्रयोग गर्ने तथा पूरा बाहुला भएका कपडा लगाउने, झुलमा सुत्नेजस्ता काम गर्दा पनि लामखुट्टेजन्य रोगहरुबाट बच्न सकिन्छ । हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि किटाणु मर्दछन् । नेपालीहरुमा युरोपेली र अमेरिकीभन्दा रोग प्रतिरोधात्मक शक्ति बढी छ भन्दैमा जे पायो त्यही र जहाँ पायो त्यही जसरी पनि खानेलाई रोगले छाड्दैन । रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनीतिक रुपमा बहुक्षेत्रीय सम्बोधन गरिनुपर्दछ ।
(लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष हुन्)