ओखलढुंगा- ओखलढुंगाको जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारले बाढी पहिरो प्रभावित देशका ४१ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा ओखलढुंगका यी दुई पालिका सूचीमा परेका हुन्।
बाढी पहिरोबाट बढी प्रभावित चम्पादेवी र सुनकोशी गाउँपालिकालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको ओखलढुंगका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक डा. नारायण ढकालले बताए ।
गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षातका कारण सुनकोशी नदीमा आएको बाढीले चम्पादेवी गाउँपालिकाको एउटै वडामा ४२ घर डुबामा परेका थिए । सुनकोशी गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा ५०० रोपनी भन्दा बढी धान खेत बाढीले डुबान तथा बगाउँदा हजारौं मुरी पाक्न लागेको धानबाली नष्ट भएको छ । दुई घर बगाउनुका साथै एक दर्जन घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
बाढीले ओखलढुंगसँग जोडिएका दुई वटा झोलुङ्गे पुल बगाउनुका साथै तीन वटालाई क्षति गरेको छ । सम्बन्धित पालिका र सरोकारवाला निकायको सिफारिस र ताकेताका आधारमा यी दुई पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । विपद् संकटग्रस्त क्षेत्र घोषणा भएसँगै राहत वितरण र पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।