काठमाडौं– युएईको अवुधावीस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली महिला श्रमिकहरुका लागि राहदानी नवीकरण सेवा तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आइतबार उक्त शिविरमा १०० जना महिला श्रमिकले आफ्नो राहदानी नवीकरण गर्नुकासाथै विशेषज्ञ स्वास्थ्यकर्मीहरुबाट निःशुल्क स्वास्थ्य परीक्षण गराएको दूतावासले जनाएको छ ।
स्वास्थ्य परीक्षणसँगै स्वास्थ्यकर्मीहरुले मानसिक स्वास्थ्य तथा महिनावारीका क्रममा देखिने समस्या र समाधानका विषयमासमेत अन्तरक्रिया गरेको जानकारी दिइएको छ । श्रम काउन्सेलर दीनबन्धु सुवेदीले युएई सरकारले प्रदान गरेको एम्नेस्टी २०२४ तथा श्रमसँग सम्बन्धित विविध विषयमा जानकारी गराएका थिए ।
युएई सरकारले अवैधरुपमा बसेका वा ‘ओभर स्टे’ भएका आप्रवासीले निरन्तर बसाइँका लागि भिसा आवेदन दिनसक्ने र स्वदेश फर्कन चाहेमा विनाजरिवाना फर्किने व्यवस्था मिलाउन ‘एम्नेस्टी २०२४’ लागू गरेको छ ।