काठमाडौं – यस वर्षको मनसुन आइतबारदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो ।सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन आइतबार बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हाे ।
मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए । विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि भोलि मंगलबारसम्म भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
आइतबार कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भएको जनाइएको छ । केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिलागरी भित्रिएको मनसुन चार दिन ढिलागरी बाहिरिन थालेको हो । मनसुन देशैभरि फैलिन भने अर्काे एक हप्ता लागेको थियो ।