कलैया – बारा प्रहरीले पत्रकार वीरेन्द्र साहको हत्याका एक अभियुक्तलाई हत्या भएको १२ वर्षपछि शनिबार राति पक्राउ गरेको छ । प्रहरीका अनुसार कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको हो । विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाँदै गरेका साहलाई भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरी निर्मम हत्या गरेको थियो । साहको शवलाई ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा गाडेको र सडेगलेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो । हत्यामा संलग्न अरु हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी रहेका छन् । गिरीले जेल सजाय भोगी मुक्त भइसकेका छन् । अरु तीन जना अहिलेसम्म फरार रहेका र खोजी भइरहेको प्रहरीले बताए । हत्यामा संलग्न तिनीहरुलाई जन्मकैदको फैसला सुनाइएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६ ०७:०८