८१ वर्षका हरिशरण काकाको कान ठ्याप्पै छ । ३५ वर्षअघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन गाउँबाट दोस्रोपटक सरकार खोज्न सहर छिरेका बेलादेखि नै उनको कान सुन्नै नसकिने गरी ठप्प छ । सात सालमा सातै वर्षका उनले सरकारको बारेमा थाहा पाउने कुरै भएन । उमेर बढेसँगै अलिअलि लेखपढ गर्न थालेपछि त उनी गाउँ–सहर गरिरहन्थे ।
आफ्ना बाउले पढ्न नपाए पनि आफूलाई सहरा राखेर पढाएकाले उनले गाउँका सबैलाई पढाउनुपर्छ भन्ने उद्देश्य लिएका थिए । त्यत्तिबेला अहिलेको जस्तै विद्यालयको पहुँच पो कहाँ थियो र ? अनि पढाउने शिक्षक पनि त पाउन मुस्किल नै थियो । त्यही भएर उनले आफ्नो गाउँमा विद्यालय सञ्चालनका लागि निकै नै मिहेनत पनि गरे ।
वि.सं. २०१७ सालमै उनी सामाजिक रुपान्तरण भन्दै युवा जोसका साथ सहर र गाउँ गर्न थाले । परिवर्तन सम्भव छ भन्ने उनको सोच थियो । त्यसका लागि शिक्षा र स्वास्थ्यमा नै जनताको पहुँच पुग्नुपर्ने संकल्प थियो । त्यसका लागि पढेलेखेका उनै विद्यालय खोल्छु भन्ने हरिशरणसँग गाउँका अधिकांश मानिसहरु बोल्नै छाडे । तर हरिशरणले हार भने खाएका थिएनन् । उनी निरन्तर विद्यालय स्थापनाका लागि लडिरहे ।
२०१७ सालमा गाउँमा पञ्चायतको निकै रौनक थियो । त्यो रौनक शासकका नजिक भएजस्तो गर्नेहरुका लागिमात्र थियो । पञ्चायतको समर्थन गरे जे गर्न पनि छुट तर त्यसभित्रका विकृत कुरा गरे गाउँ नै निकाला गर्ने दम्भ पञ्चहरुको थियो । राजाकै गाउँ र वरपरकै गाउँका मानिसहरु पनि त्यसरी प्रताडित बनेका थिए ।
त्यही कुरा हरिशरणलाई फिटिक्कै मन परेको थिएन । १७ सालदेखि नै जोसिएर त्यसका विपक्ष उभिन्थे । राम्रा कामको खुलेरै प्रशंसा पनि गर्दथे । उनकै एउटा माग थियो । नागरिकले सरकार भएको अनुभूत गर्न पाउनुपर्छ । २००७ सालमा राणा शासन फालेर ल्याएको प्रजातन्त्र त्यही १७ सालमा दलमाथि प्रतिबन्ध गरिएको थियो । बहुदलका नाममा ठेकेदारी सुरू हुन लागेको भन्दै राजा महेन्द्रले १७ सालमा शासनसत्ता लिएर बहुदलमाथि प्रतिबन्ध लगाए ।
हरिशरणहरु त्यसको प्रतिकार गर्न हौसिए । भर्खरका युवाहरु जोस जाँगर देखाउन के बाँकी राख्थे र ! पञ्चायतको विपक्षमा बोल्न थाले । २०४६ सालसम्म गाउँ–सहर गर्दै जनताका छोराछोरीलाई पढाउने काममा लागि नै रहे । ढल्कँदै गएको उमेर अर्थात् ४६ काट्न लाग्दा पनि उनले सरकार छ भन्ने अनुभूति गर्न पाएनन् भन्दै सरकार खोज्न न्युरोड पुग्दा झडपमा परेर उनको कान ठप्प भएको अहिलेसम्म पनि ठप्पै छ ।
२०४६ सालपछि परिवर्तनका संकेत देखिन थाले । हरिशरणहरुले खोजेको र रोजेकोजस्तो परिवर्तन हैन । सत्तामा हुनेहरुको गुणगान गाउने गणेशहरुको मात्र परिवर्तन भयो । घर, बारी, घोडा, गाडी सबै उनीहरुका लागिमात्र भए । हरिशरणहरु फेरि सरकारको खोजी गर्न थाले, तर पाएनन् ।
बरू ४५ सालतिर भारतले नाकाबन्दी लगाउँदा पञ्चायतकै शासक भए पनि मरिचमानहरुले जनतालाई भोकै राखेनन् । हवाईजहाजबाट नूनदेखि दैनिक खाद्यान्न ल्याएर वितरण गरे हरिहरण काका मट्यांग्रालाई सुनाउँछन् । तर, आफूलाई जनताका भन्नेहरुले जनताको नाममा लुट्ने सिवाय केही गरेनन्, बुझिस् !
काकाले मट्यांग्रालाई निकै भावुक हुँदै सुनाए । काकाको गहभरि आँसु थियो । नहोस् पनि किन जीवनमा परिकल्प नै नगरेको दुख परेको थियो । पुर्खालेसमेत नभोगेको भोग्नुपरेको थियो । उनीसँग सिंगो शरीरबाहेक सबै खोलाले बगाइदिएको थियो । १७ सालदेखि सरकार खोज्न हिँडेका हरिशरण काकाले ८१ सालसम्म पनि सरकार पाएका थिएनन् । सरकार थियो रे सिंहदरबारतिर । त्यही सरकारको भिजिलान्तेहरु साँझ परेपछि भैँसेपाटीतिर बनाएको आलिसान महलतिर टहल्न थाले । तर, त्यहीँबाट महासागरजस्तै गरी गाउँ नै सिनित्त पारेर बगेको बागमती देखेनन् । बाढीले बगाएको आफ्नो जनता देखेनन् ।
बागमती खोला जसरी बौलाएको थियो । त्यसैगरी रोशी खोला पनि गड्गडाइरहेको थियो । कसैले कसैलाई बाँकी राख्दै राखेनन् । बाटो, पुल पुलेसा, घरबारी, खेत, वस्तुभाउ सिनित्तै पारेर खोलाले लैजाँदा पनि सरकारका नाइकेहरु भैँसेपाटी र सिंहदरबारभित्र बसेर पावर भएको चस्मा खोज्नमै व्यस्त थिए ।विचरा ! ती नाइकेहरुलाई त्यो चस्मा खोज्न कम्ती गाह्रो भएन र ! बरू खोला बगाएका, आफन्त गुमाए, घरबारविहीन भएकाहरुलाई त्यत्ति गाह्रो भएको थिएन होला !
हरिशरण काका हिक्क–हिक्क गर्र्दै आँसु पुछ्छन् । उमेरले नेटो काटिसक्यो । अब त डाँडामाथि घाम भइएको छ । तर पनि खै त न्याय ? मैले १७ सालदेखि पटक–पटक खोज्दै हिँडेको सरकार अहिलेसम्म फेला परेन । बरू त्यही सरकार खोज्दाखोज्दै मेरा पुर्खा सिँचेको यही माटो पनि दैवले बगायो । तर, मलाई किन बगाएन ? हरिशरण काका ८१ वर्षको उमेरसम्म कहिल्यै निराश नभएको व्यक्ति अहिले सरकार नभएकोले दुःखी भएका छन् । सरकारको अनुभूति हरिशरण काकाले गर्न पाउँदै पाएनन् । ४६ सालदेखि ८१ सालसम्म पनि उही १७ साले प्रधानपञ्चहरुले जस्तै पाँच पाण्डवहरुले खेलाइरहेका छन् देश र जनतालाई बुझिस् कान्छा ?
काकाले ८१ वर्षदेखि बुझेको कुरा त्यो विचरा मट्यांग्राले के बुझ्न सक्थ्यो र ? १० वर्षसम्म चलेको गोला बारुदको खेल होस् वा प्राकृतिकरुपमा भएको विनासकारी भूकम्प वा महामारी नै किन नहोस् । पाँच पाण्डवहरुको मन कहिल्यै छोएन । बाढीले बगाओस् कि हुरीले उडाओस् मन पग्लँदै पग्लिएन । बरू कथाकुथुंगिग्र खोजेर त्यही पाँच पाण्डवले बाँदर नचाएको नचायै छन् । सरकार भन्ने त कुन दुलोमा छ पत्तै छैन । झन् अहिले त एउटा हो र, तीन–तीन तहको सरकार ! आँखाभरि आँसु लिएर काका मरिमरि हाँस्छन् । अनि ठूलो स्वरले भन्छन्, ओइऽ तँ कहाँ छस् । सरकार भनेको के हो ? कहाँ छ सरकार ? जनताको सर्वस्व बगाएको बाढीको भेलमा छन् कि, कमिसनको मेलमा छस् । ओई सरकार, तँ कहाँ छस् ?