काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो महिना अर्थात् असोजमा वैदेशिक रोजगारीका लागि ५३ हजारभन्दा बढी नेपाली श्रमिक विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार असोज महिनामा ५३ हजार ५२५ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् ।
विभागको तथ्यांकअनुसार असोजमा विदेसिने नेपालीको संख्या गत भदौ महिनाकोभन्दा झण्डै चार हजारले घटेको छ । भदौमा ५७ हजार ४९३ जनाले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका थिए । चाडवाडका कारण असोज महिनामा विदेश जाने श्रमिक घटेको हुनसक्ने वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।
विदेसिनेमध्ये ६८२ जना महिला
१७,७२४ श्रमिक पुगेको युएई शीर्ष गन्तव्य
यद्यपि, चाडवाड नै छाडेर रोजगारीका लागि विदेसिने यो ठूलो संख्या भएको उनीहरुको भनाइ छ । विभागको तथ्यांकअनुसार नेपाली युवाहरु ९८ वटा मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । गत आवको अन्तिमसम्म पहिलो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)ले चालु आवको सुरुआती महिनादेखि नै पहिलो स्थान ओगटेको छ । विभागको तथ्यांकअनुसार युएईमा जानका लागि असोजमा १७ हजार ७२४ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै असोज महिनामा रोजगारीका लागि साउदी अरेबिया जान १० हजार ४६८ जनाले श्रम स्वीकृति लिएका छन् । संख्याको हिसावमा साउदी दोस्रो स्थानमा परेको छ । त्यसैगरी तेस्रो स्थानमा परेको कतारमा नौ हजार ७९८ जना श्रमिकले श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेको विभागले उल्लेख गरेको छ । गत आवदेखि नै साउदी र कतार जाने नेपालीको संख्या हाराहारीमा रहेको विभागको तथ्यांकले देखाएको छ । यस्तै चौथो गन्तव्यमा कुवेत रहेको छ । कुवेतमा तीन हजार ८०७ जना रोजगारीका लागि पुगेका छन् । यस्तै युरोपेली मुलुक रोमानिया पाँचौं स्थानमा परेको छ । जहाँ दुई हजार २०४ जना गएका छन् ।
यसैगरी नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियामा भने थोरै मात्रामा श्रमिकले श्रम स्वीकृति लिएका छन् । मलेसिया सरकारले गत मे अन्तिमबाट विदेशी कामदार लिन बन्देज गरेसँगै त्यहाँ जाने नेपालीको संख्या असोजमा एक हजार ३१४ जनामा सीमित भएको छ । विभागको तथ्यांकलाई हेर्दा उल्लिखित मुलुकहरुले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशत बढी) ओगटेको देखिन्छ ।
यसैगरी जापानका लागि एक हजार २९९, माल्दिभ्स ८५८, क्रोएसिया ७८३, बहराइन ७२६, ओमान ५०९, साइप्रस ४८५, मोरिसस ३८३ र माल्टाका लागि २२७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै असोज महिनामा इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार तीन जना रहेको छ ।
विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १९ हजार ३५६ जना छन् । पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३४ हजार १६९ जना रहेका छन् । चालु आवको तेस्रो महिनामा श्रम स्वीकृति लिनेमध्ये छ हजार ८२ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । चालु आव सुरु भएसँगै वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको विभागको तथ्यांकले देखाएको छ ।
यसरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जानेहरुमा उच्च दक्षता भएकादेखि अदक्ष श्रमिक रहेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । असोज महिनामा उच्च दक्षता हासिल गरेका ७५ जना र पेसागत दक्षता भएका ३३० जना नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । वैदेशिक रोजगारीको क्रममा सबैभन्दा बढी दक्ष कामदार गएको विभागले जनाएको छ । यो संख्या ३३ हजार ९१९ रहेको छ । यस्तै अर्धदक्ष श्रमिकको रुपमा पाँच हजार ७६३ जना बाहिरिएका छन् भने १३ हजार ४३८ अदक्ष श्रमिक असोज महिनामा विदेसिएका छन् ।
धेरै श्रमिक गएका १० मुलुक
युएई– १७,७२४
साउदी– १०,४६८
कतार– ९,७९८
कुवेत– ३,८०७
रोमानिया– २,२०४
मलेसिया– १,३१४
जापान– १,२९९
कोरिया– १,००३
माल्दिभ्स– ८५८
क्रोएसिया– ७८३