काठमाडौं – वैदेशिक रोजगार बोर्डले चलाइरहेको सफ्टवेयरमा आएको समस्याले सेवाग्राही प्रभावित भएका छन् । सफ्टवेयरमा आएको समस्याका कारण बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अंगभंग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको छ ।
बोर्डले शुक्रबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अंगभंग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायत वैदेशिक रोजगार सन्तती छात्रवृत्ति प्रदानमा प्रयोग हुने सफ्टवेयरको सर्भरमा केही दिनदेखि समस्या आइरहेको उल्लेख गरेको छ ।
सर्भर मर्मत कार्य जारी रहेकाले पुनः सञ्चालन हुन अझै केही दिन समय लाग्ने बताइएको छ । ‘यस सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं,’ बोर्डले सूचनामा भनेको छ ।
यद्यपि, आर्थिक सहायता वितरणमा समस्या आए पनि इमेलमार्फत वा भौतिकरुपमा उपस्थित भई दिएको निवेदन संकलन कार्य निरन्तर रुपमा चलिरहेको बोर्डले उल्लेख गरेको छ ।