काठमाडौं– मलेसिया सरकारले कामदारको न्यूनतम तलबमा वृद्धि गरेको छ । त्यहाँको सरकारले सन् २०२५ को बजेट भाषणमार्फत कामदारको तलब प्रतिमहिना न्यूनतम १७ सय मलेसियन रिंगेट पु¥याउने घोषणा गरेको हो ।
हाल कामदारले प्रतिमहिना न्यूनतम १५ सय रिंगेट पाउने गरेका छन् । वृद्धि गरिएको तलवमान सन् २०२५ फेब्रुअरी १ देखि लागू हुने त्यहाँका सञ्चारमध्यमले जनाएका छन् । यद्यपि, पाँच जनाभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि वृद्धि गरिएको न्यूनतम तलब २०२५ अगस्टदेखि लागू हुने बताइएको छ ।
नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मानव संसाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्ने जनाएको छ । त्यसैले नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने भएको उल्लेख गरिएको छ ।सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिने बताउँदै प्रधानमन्त्री अनवर इब्राहिमले जनताको जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदामात्र आर्थिक पुनर्संरचना सफल भएको मानिने भएकाले तलब वृद्धि गरेको बताएको सञ्चारमाध्यममा उल्लेख छ ।
सरकारले न्यूनतम पारिश्रमिकमा वृद्धि गरे पनि दक्ष कामदारहरूका लागि भने न्यूनतम पारिश्रमिकलाई सुरूआती तलबको रुपमा लिन नहुने मलेसियाको मानव संसाधनमन्त्री स्टिभन सिम ची केओङले विज्ञप्ति निकालेर प्रस्ट पारेका छन् । मन्त्री स्टिभन आफ्नो मन्त्रालयले पहिलोपटक मलेसिया स्ट्यान्डर्ड क्लासिफिकेसन अफ अक्युपेसन्स (मास्को) को आधारमा सबै रोजगारी क्षेत्रका लागि सुरूआती तलब निर्देशिका प्रकाशित गर्ने बताए ।
मलेसियाले न्यूनतम तलब वृद्धि गरेसँगै आप्रवासी कामदारसमेत लाभान्वित हुने बताइएको छ । २०२२ मार्चयता विदेशी कामदारले न्यूनतम तलब १५ सय रिंगेट पाउँदै आएका छन् । २०२२ यता ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि मलेसिया पुगेका छन् । मलेसिया रोजगारीका लागि नेपालहिरु आकर्षित हुनुमा न्यूनतम तलब वृद्धिले पनि प्रभाव पारेको श्रमविज्ञहरुको भनाइ छ । न्यूनतम तलब वृद्धि हुनुले अहिले बन्द भएको विदेशी कामदार आपूर्ति खुल्ने वित्तिकै ठूलो संख्यामा नेपालीहरु मलेसिया रोजगारीका लागि जाने देखिन्छ ।