काठमाडौं – वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया जाने नेपालीले ५०० डलर सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले वैदेशिक रोजगारका लागि अस्ट्रेलिया जानेलाई पनि युरोप, अमेरिका र जापानसरह नै ५०० डलर बराबरको सटही सुविधा दिएको हो । यसअघि अस्ट्रेलिया रोजगारीमा जानेले २०० डलरमात्रै सटही सुविधा पाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजागारीमा जानेलाई राहदानीबापत ५०० अमेरिकी डलर सटही सुविधा दिँदै आएको छ । जापानमा भने गत वर्षदेखि मात्रै ५०० डलरसम्मको सटही सुविधा दिन थालेको हो ।
उल्लिखित मुलुकबाहेक अन्य देशमा रोजगारीका लागि जानेहरुलाई २०० डलरसम्म मात्रै सटही सुविधा पाउँदै आएका छन् । अब भने अस्ट्रेलियामा रोजगारीमा जानेले पनि ५०० डलरसम्मको सटही सुविधा पाउने भएका हुन् ।
अमेरिका, युरोप र जापानमा जस्तै अस्ट्रेलियामा पनि ‘लिभिङ कस्ट’ उच्च भएकाले सटही सुविधा बढाइएको राष्ट्र बैंकले जनाएको छ । यस्तै विदेश जानेले राहदानीबापत विदेशी मुद्रा सटही गर्दा भ्रमण उद्देश्य खुलाउनुपर्ने उल्लेख गरिएको छ । अब विदेशी मुद्रा सटही गर्दा विवरणमा भ्रमण उद्देश्य के हो भन्ने खुलाउनुपर्ने छ ।
त्यसका लागि व्यावसायिक÷औपचारिक भ्रमण, उपचार, स्थायी बसाइ (प्रथम पटक) अस्थायी रोजगार, शिक्षा, अध्ययन र अन्य व्यक्तिगत भ्रमणमध्ये कुन प्रयोजनका लागि भन्ने विवरण खुलाउनुपर्ने छ ।