विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विस राजदूत डा डेनिएल मेउलीबीच आज यहाँ शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनालगायत द्विपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए ।
स्विस सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूमा हालसम्म भएको प्रगति र आगामी सहकार्य, कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष–२०८२ का विषयमा समेत छलफल भएको खनालले जानकारी दिए ।
भेटवार्तामा राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्विस सरकार तयार रहेको र साझा हित तथा क्षेत्र मिल्ने परियोजनाहरूमा सहकार्य जारी रहने बताए।कोशी प्रदेशमा स्विस सरकारको सहयोगमा खानेपानी तथा सिँचाइ मन्त्रालयअन्तर्गत आठवटा पहाडी जिल्लामा साना सिँचाइ आयोजना, झोलुङ्गेपुल, प्राविधिक सहयोग तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पदमार्गमा आधारित परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत सीप तथा रोजगारमूलक तालिमसँग सम्बन्धित परियोजनाहरू सञ्चालनमा छन् ।
यस्तै, सामाजिक विकास मन्त्रालयअन्तर्गत सुशासनसँग सम्बन्धित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) र युवा उद्यमशीलता, प्राविधिक तालिम र रोजगारी प्रवर्द्धनसम्बन्धी परियोजनाहरू सञ्चालन भइरहेका छन् ।